कोहलपुर ।
खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ति लैजान खोजेको भन्दै बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सोही क्रममा आईतवार बाँके कोहलपुरमा रहेका बैंकमा कार्यरत कर्मचारीहरु सामाजिक सुरक्षा कोषले गरेको निर्णयको विरुद्धमा उत्रिएका थिए । बैंकका कर्मचारीहरु कोषले गरेको निर्णयको विरोधमा सडकमा नै उत्रिएर विरोध जनाएका हुन् ।
आईतवार बिहान कोहलपुर बैंकर क्लवको अगुवाईमा बैंकका कर्मचारीहरुले सडकमा विरोध प्रदर्शन गरेका थिए । कोहलपुर बैंकर क्लव बसन्त रेग्मीले सामाजिक सुरक्षा कोष आफुहरुको हकहितमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए । ‘खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको सामाजिक सुरक्षा कोषमा जबर्जस्ति लैजान खोजिएको छ’ उनले भने, ‘कर्मचारीको खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको कोषमा हामी जाँदैनौं ।’
विद्यमान व्यवस्थाहरु संशोधन नभएसम्म कोषमा आवद्ध हुन नसकिने भन्दै कर्मचारीहरुले आफ्नो कार्यालय अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने ब्यानर राखेर विरोध प्रदर्शन गरिराखेका छन् । सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोषमा आवद्ध हुन सार्वजनिक सूचना निकालेपछि देशभरका बैंकमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका हुन् ।
आईएलओ अभिसन्धि १९४९ (नं.९८), नागरिकको मौलिक हक, श्रम ऐनको मर्म विपरित बैक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुको ‘राइट टू अर्गनाइजेसन एण्ड राइट टू कलेक्टीभ बार्गेनिङ’ गर्न पाउने हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले तथा खाइपाई आएको सेवासुविधा घट्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले आन्दोलनमा उत्रनु परेको बैंकिङ कर्मचारीहरु बताउँछन् ।
सामाजिक सुरक्षा कोषमा सरकारी स्वामित्वका तीन बैंक राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंक जानु पर्दैन । २७ मध्ये यी तीन बैंक सरकारी भएकै कारण जानु नपर्ने भएको हो । यसबाहेक स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक गइसकेका छन् । बाँकी रहेका २२ बैंकका कर्मचारीहरु अहिले आन्दोलनमा रहेका छन् ।
सामाजिक सुरक्षा कोषले कार्यविधि संशोधन गरेर पुरानो सञ्चय कोषको रकम जम्मा गर्न नपर्ने व्यवस्था गरेको छ । तर ऐनले यसलाई काट्छ । श्रम ऐन संशोधन नभइ कार्यविधिलाई मात्र पत्याउने पक्षमा कर्मचारी देखिएका छैनन् ।
‘श्रम ऐनको दफा ५२ को ५ मा’ यो ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कानून बमोजिम स्थापित अवकाश कोष वा त्यस्तै अन्य कुनै कोषमा सञ्चित वा रोजगारदाताको जिम्मामा रहेको सञ्चय कोषबापतको रकम यो ऐन प्रारम्भ भएपछि तोकिए बमोजिम सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्नु पर्नेछ,’ भन्ने व्यवस्था यथावत छ ।









प्रतिक्रिया दिनुहोस्