नेपालगञ्ज ।
नेपालका जननिर्वाचित पहिलो दलित सांसद कृष्णसिंह परियारको निधन भएको छ । उनको नेपालगञ्ज उप–महानगरपालिका, १२ स्थित आफ्नै निवासमा ७६ वर्षको उमेरमा शुक्रवार बिहान मृत्यु भएको हो । २०४८ सालको निर्वाचनमा बाँकेको क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेका परियार राज्य व्यवस्था समितिको सभापति समेत बनेका थिए ।
नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गरेका परियार इमान्दार र निर्भिक नेताका रुपमा परिचित छन् । परियार लामो समयदेखि मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित रहेका थिए । नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्य एबम युवा नेता सुधाम्सु कोइरालाका अनुसार काँग्रेस बाँकेको पार्टी सचिव समेत बनिसकेका सांसद परियारको दाहसंस्कार नेपालगञ्ज स्थित हिन्दू संसानघाटमा गरिएको छ ।
नेता कोइरालाका अनुसार स्वर्गीय परियारका ४ छोरा, २ छोरी र २ श्रीमती रहेका छन् । बाँकेको डुडुवा गाउँपालिकाको कम्दि स्थित सिधनिया घाटमा दाहसंस्कार गर्ने भनिएपनि मौसमको प्रतिकुल कारण नेपालगञ्ज बुलबुलिया स्थित हिन्दू संसानघाटमा दाहसंस्कार गरिएको उनले बताए । यसैबीच नेपाली काँग्रेस बाँकेले सांसद परियारको निधनप्रति गहिरो दुःख प्रकट गर्दै नेपाली काँग्रेसको फेसबुकमार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
‘नेपालको जन निर्वाचित पहिलो दलित समुदायको सांसद आदरणीय कृष्णसिंह परियार रहनुभएन । २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर– ३ बाट निर्वाचित नेपाली काँग्रेसका नेता परियार तत्कालीन संसदमा राज्य ब्यवस्था समितीको सभापति जस्तो महत्वपूर्ण पदमा रहेर जिम्मेवारी निभाउनु भएको थियो ।’ नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाद्वारा जारी शोक वक्तब्यमा भनिएको छ ।
‘बिपिको प्रजातान्त्रिक समाजवाद प्रति प्रतिबद्ध नेता परियार पञ्चायती ब्यवस्थाको बिरुद्धमा संघर्ष गर्दा धेरै दुःख कस्ट ब्यहोर्दै जेल नेल खानु भएको थियो । जातीय विभेद बिरुद्धका अग्रणी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा श्रद्धय कृष्ण सिंह परियारज्यु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार जन प्रति हार्दिक समबेदना प्रकट गर्दछु’ शोक वक्तब्यमा भनिएको छ ।









प्रतिक्रिया दिनुहोस्