बाँकेमा ९३ सक्रिय संक्रमित, अहिलेसम्म जिल्लाका ३१० जनाको मृत्यु



कोहलपुर ।

कोरोनाको दोस्रो लहरले धेरै प्रभावित बनाएको बाँकेमा सक्रिय संक्रमितको संख्या दुई अंकमा झरेको छ । दोस्रो लहरको बेला मात्रै सक्रिय संक्रमितको संख्या ५ हजार नजिक पुगेको थियो । पछिल्लो समय दैनिक नयाँ थपिने संक्रमित न्यून र कोरोना जितेर घर फर्किनेहरुको संख्या बढेसँगै शुक्रवार सक्रिय संक्रमितको संख्या दुई अंकमा झरेको हो ।

यो वर्ष बाँकेमा सक्रिय संक्रमितको संख्या दुई अंकमा शुक्रवार मात्रै झरेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्लामा सक्रिय संक्रमित संख्या एक सय भन्दा तल झरेको छ’ जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले भने, ‘शुक्रवार थप २७ जना डिस्चार्ज भएपछि सक्रिय संक्रमित संख्या दुई अंकमा झरेको हो ।’ शुत्रवारसम्म बाँके जिल्लाभित्रका ४३ महिला र ५० पुरुष गरेर ९३ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

बाहिरी जिल्लाका सक्रिय संक्रमितको संख्या भने १ सय ३ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । जिल्लाभित्र र बाहिरका गरेर होम आइसोलेसनमा रहनेको संख्या १ सय २० रहेको थियो । तीमध्ये ६५ महिला र ५५ पुरुष रहेका थिए । जिल्लामा शुक्रवार १० महिला र १७ पुरुष गरेर २७ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ९ सय ८० पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

कोरोना जित्नेहरुमा ७ हजार २ सय २८ महिला र ९ हजार ७ सय ५२ पुरुष रहेको उनले बताए । पछिल्लो २४ घण्टामा २७ जना कोरोना जितेर डिस्चार्ज हुँदा १ जना मात्र संक्रमित थपिएका थिए । जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा ३६ जनामा संक्रमण देखिएपनि बाँकेका १ जनामात्र रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा एक महिलामा मात्र संक्रमण पुष्टि भएको थियो ।

योसँगै बाँकेका कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ८३ पुगेको छ । तीमध्ये ७ हजार ४ सय महिला र ६ हजार ८ सय ११ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ९ महिला र २६ पुरुष गरेर ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका दुई संक्रमितको मृत्यु भएको थियो ।

बाँके जिल्ला भित्रका कुनै संक्रमितको मृत्यु नभएपनि बाहिरी जिल्लाका दुई संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । अहिले कोरोना संक्रमणका कारण बाँकेका १ सय २९ महिला र १ सय ८१ पुरुष गरेर ३ सय १० जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि रिफर भएर आएका १ सय ७ महिला र २ सय ३६ पुरुष गरेर ३ सय ४३ जनाको मृत्यु भएको छ । जिल्ला भित्र र बाहिरी जिल्लाका २ सय ३६ महिला र ४ सय १७ पुरुष गरेर ६ सय ५३ जनाको जिल्लाका विभिन्न अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ५ गते शनिबार