भैँसी चराउन जाँदा रातभर टापुमा फसे, २४ घण्टापछि सकुशल उद्दार



शिवु खनाल । दाङ ।

राप्ती नदीको दायाँ र बायाँ पट्ठी बीचको भागमा भैसी चराउन गएका चार जना लगातार अविरल वर्षातका कारण टापुमा फसे । मंगलवार विहान आठ बजे घरबाट खाना खाएर गोठबाट भैसी फुकाएर राजपुरबाट तीन र लमहीबाट एक जना गरि चार जना भैसी लिएर टापुमा पुगे ।

‘यस्तो होला भन्ने के थाहा । एक्कासी राप्ती नदीको बहाव बढेपछि हामी नदीको बीच भागमा फस्यौँ’ राजपुर गाउँपालिका, ३ का गणेश यादवले भने, ‘रातभरी कठिङ्ग्रीएर खरको छाप्रोमा भोकभोकै रात बितायौँ । रातभर राप्ती नदीमा आएको बहाव हेर्दै रात बिताउन बाध्य भयाँै ।्र

हारगुहारको लागी गाउँ नजिक थिएन ।’ २०१८ सालमा आएको बाढीका कारण राजपुरको बेला र लमहीको हस्नापुर घाटको बीच भागमा रहेको टापुबाट स्थानीय बसाइसराई गरेर लमहीको हसनापुर गएका थिए । हसनापुर र बेला जोड्ने बीचमा राप्ती नदिको दुईवटा भाग रहेको छ । बीचमा रहेको टापुमा हसनापुरका स्थानीयले गाई भैंसीलाई चरिचरनका लागि लैजाने गरेको स्थानीय रामआधार शर्माले बताए ।

उनीहरुको बुधवार बिहान मात्र २४ घण्टापछि उद्दार गरिएको थियो । नदीको टापुमा फसेका उनीहरुलाई तालिम प्राप्त सुरक्षाकर्मीको टोलीले सकुशल उद्दार गरेको हो । राजपुर गाउँपालिका, ३ प्रतापपुरका गणेश यादव, वडा नम्बर, २ बेलाका राधेश्याम यादव, सोही ठाउँकी सावित्रा यादव र लमही नगरपालिका वडा नम्बर, ७ हस्नापुरका मन्साराम चौधरीलाई उद्दार गरिएको प्रहरीले जनाएको छ । रात परेको र फसेको घाटको बारेमा एकिन गर्न नसक्दा समयमा नै उद्दार गर्न नसकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण अर्जुन खोलाका प्रमुख यादव विश्वकर्माले जानकारी दिए ।

तयारी अवस्थामा छौंः प्रजिअ पौडेल

मनसुन सुरु भएपछि भारी वर्षाका कारण नेपालका विभिन्न स्थानहरुमा बाढी, पहिरो र डुवान सुरु भइसकेको छ । अहिले दाङसहित मुलुकभर विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । यो क्रम अझै केही दिन जारी रहने भएको आवश्यक सावधानी अपनाइएको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । ‘यो बेला ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्छ ।

खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्छ । त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ ।’ उनले भने । जिल्लामा बाढी पहिरोमा परेकाको उद्दारको लागी आवश्यक पर्ने सामाग्री तथा पहिरो पन्छाउनको लागी सडक विभागसँग समन्वय गरेर डोजर समेत तयारी अवस्थामा राखिएको प्रजिअ पौडेलले जानकारी दिए । उद्दारको लागि तीनै निकायका तालिमप्राप्त सुरक्षाकर्मीहरु समेत तयारी हालतमा आवश्यक सामाग्रीसहित राखिएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ३ गते बिहीबार