शंकर के.सी. सल्यान, २ असार ।
लगातारको वर्षा र त्यसपछीको पहिरोको कारण राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सल्यानको कपुरकोट ३ बस्वारी भन्ने स्थानमा झरेको पहिरोको कारण मंगलबार देखी नै सडक अवरुद्ध छ ।
पहिरो हटाउने प्रयास गरिए पनि निरन्तर पानी परिरहेको र माथीबाट पहिरो झर्ने क्रम नरोकिएकाले सम्भव नभएको प्रहरीले जनाएको छ । सल्यान कपुरकोट देखी दाङ तुलसिपुर जोड्ने बैकल्पीक मोटरबाटोमा पनि ठाउँठाउँमा पहिरो झरेको छ ।
कपुरकोट पाखापानी धैरेनी हुदै सातबास जोड्ने मोटरबाटो तथा कपुरकोट किमुचौर लामिडाँडा हुँदै सातबास जोड्ने मोटरबाटो पनि अवरुद्ध छ । कपुरकोट गाउँपालिकाका विभिन्न वडामा निर्माण गरिएका सडकहरु वर्षाका कारण अवरुद्ध बनेका छन् ।
यसैविच पहिरोले घर पूर्ण रुपमा जोखिममा परेपछी कपुरकोट ३ बस्वारीमा एक घर परिवारलाई प्रहरीले सुरक्षित स्थानमा राखेको छ । अविरल वर्षाका कारण शोविर डाँगीको घर पूर्ण रुपमा जोखिममा परेपछी ५ जनाको परिवारलाई छिमेकीको घरमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी नायव निरिक्षक याम बहादुर बस्नेतको प्रहरी टोलिले उक्त घरमा रहेका सम्पूर्ण सामग्री सहित ५ जनाको परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताइएको छ । उनीहरु स्थानीय लिल बहादुर यरीको घरमा बसिरहेका छन् । पहिरोबाट विस्तापित परिवारलाई २ थान त्रिपाल पनि हस्तान्तरण गरिएको प्रहरी नायव निरिक्षक बस्नेतले जनाए ।









प्रतिक्रिया दिनुहोस्