नेपालगञ्जमा वडाअध्यक्षमाथि कुटपिट, तीन पक्राउ



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष सुरेन्द्र गुप्तामाथि हातपात भएको छ । त्रिभुवन चोकमा रहेको संगमरमर मन्दिरको रेलिङ लगाउने क्रममा स्थानीय व्यक्तिहरुले वडाअध्यक्ष गुप्तामाथि हातपात गरेका हुन् । उहाँको टाउकोमा चोट लागेको बताइएको छ ।

वडाअध्यक्ष गुप्तामाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिभुवन चोकका राजु वैश्य, गणेश वैश्य, शिव शंकर वैश्य रहेका छन् ।

वडा कार्यालयले मन्दिरको सुरक्षाका लागि रेलिङ लगाउने निर्णय गरेको थियो । वडा कार्यालयबाट पाँच लाख रुपैयाँ निकासा गरेर रेलिङ लगाउने काम सुरु भएको थियो ।

हातपातमा संलग्न व्यक्तिहरुले आफुहरुलाई जानकारी नदिएर वडाअध्यक्षले रेलिङ लगाउने काम गरेको दावी गरेका छन् । तर वडाअध्यक्ष गुप्ताले भने सार्वजनिक सूचना नै टाँसेर रेलिङ लगाउने काम सुरु गरिएको बताउनुभएको छ ।

रेलिङ नहुँदा मन्दिरमा पशुचौपायाँ गएर शौच गर्ने गरेका थिए । त्यहीबाट जोगाउन रेलिङ लगाउने निर्णय वडा कार्यालयले गरेको थियो ।

www.onlinekhojkhabar.com

  • No tags available
प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार