कोहलपुर ।
बाँकेमा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमवार रातीदेखि सकिदै थियो । कोरोना संक्रमणदर घटेकाले निषेधाज्ञा हटाउनुपर्ने माग भइरहेका बेला स्थानीय प्रशासनले निषेधाज्ञा एक साता थप गरेको हो । निषेधाज्ञाको अवधि बढाइए पनि त्यसलाई पहिलेको भन्दा केही खुकुलो पारिएको छ ।
सोमवार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको आदेशमा निषेधाज्ञा केही खुकुलो पारिएको उल्लेख गरिएको छ । जिल्लामा कोरोना संक्रमणको दर क्रमशः घट्दै गएको देखिए पनि जोखिमको अवस्था अझै कायम नै रहेकाले निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए । ‘केही सातायता जिल्लामा संक्रमणदर क्रमशः कम हुदै गइरहेको देखिन्छ ।
तर अझै जोखिम कायमै रहेकोले निषेधाज्ञा थप गरिएको हो’ उनले भने, ‘निषेधाज्ञा थप गरिएपनि क्रमशः पहिलेको भन्दा खुकुलो पारिएको छ ।’ पछिल्लोपटक सोमवार असार ७ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञाको अवधि थपिएको छ । पहिले १२ बजेसम्म मात्र खोल्न पाइने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु अहिले भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म पाइनेछ ।
निषेधाज्ञाको समयमा वैकल्पिक माध्यमबाट हुने शिक्षण तथा सिकाई, बैंक तथा वित्तीय संस्था, कृषि, उद्योग, कलकारखाना, निर्माण कार्य र रेष्टुरेण्टबाट हुने प्याकिङ तथा टेक अवे सेवा सञ्चालन हुनेछन् । त्यसैगरी विवाह , ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी हुन पाइने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
सञ्चालन गर्न पाउने पेशा व्यवसाय, कार्यमा सम्बद्ध व्यक्तिहरुको अनिवार्य रुपमा परिचय पत्र हुनुपर्ने आदेशमा उल्लेख गरिएको छ । अत्यावश्यक सेवा र सो का लागि प्रयोग हुने सवारी साधन, अनुमति प्राप्त सवारी साधन र मालबहाक तथा ढुवानीका साधनहरु चल्न पाउँनेछन् । तर मास्क, भौतिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना हुने व्यवस्था मिलाउनुपर्ने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए ।
के–के खोल्न पाइनेछैन
निषेधाज्ञालाई केही खुकुलो बनाइए पनि केही क्षेत्रहरुमा भने अझै रोक नै लगाइएको छ । सार्वजनिक सवारी, शैक्षिक, मनोरञ्जन लगायतका क्षेत्रहरु तत्काल सञ्चालन नहुने प्रमुख जिल्ला अधिकारी गेलालले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।
सबै खाले शैक्षिक संस्थाहरु, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, डान्सवार, स्पा, सेलुन तथा ब्युटी पार्लर सञ्चालन गर्न पाइनेछैन ।
त्यसैगरी पुजारीबाट हुने नित्य पूजा बाहेकका सबै प्रकारका धार्मिक तथा साँस्कृतिक गतिविधिहरु, यात्रुवबहाक सार्वजनिक सवारी साधन र औषधी उपचार, अत्यावश्यक काम र राजमार्ग प्रयोग बाहेक अनुमती बिना बाँके जिल्ला प्रवेश रोक लगाइएको छ । निषेधाज्ञाको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम व्यक्तिले उल्लघंन गरो एक लाख रुपैयाँसम्म र संस्थाले गरेमा पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने आदेशमा चेतावनी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्