म्याग्दी ।
म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेको छ।
शुक्रबार साँझदेखि परेको वर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको छ।
बेनी–अर्थुङ्गे सडकको भल नाली बाहिर बगेर बाढी आउन थालेपछि मंगलाघाट क्षेत्रमा रहेको आठ वटा कार्यालयका भवन र मुस्लिम समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ।
भू–तथा जलाधार संरक्षण, वन डिभिजन र कृषि ज्ञान केन्द्रका कर्मचारी बस्ने दुई/दुई वटा आवास भवन, भू–संरक्षण र वन डिभिजन कार्यालयको नर्सरी तथा सँगै रहेको नर्सरीको भण्डारण भवनमा बाढी पसेको छ।
सहायक वन अधिकृत नविन बिश्वकर्माले सात वटा भवनको भुई तलामा बाढी पसेर हिलाम्मे भएको बताए।
‘राति दुई बजे बाढी आएपछि भागाभाग भयो’, उनले भने, ‘तर्काउने प्रयास गर्दा गर्दै कोठा भित्रै पसेर हिलाम्मे बनायो।’
वन डिभिजनको बहुवर्षे र भू–तथा जलाधार संरक्षण कार्यालयको नर्सरीका बिरुवा बाढीले पुरेर नष्ट गरेको छ। रोप्नका लागि तयार भएका दुई वटा नर्सरीका एक लाख ५० हजार बिरुवा नष्ट भएका छन्।
सो ठाउँमा गत वर्षको भदौमासमेत बाढी पसेको थियो। भू–तथा जलाधार संरक्षण कार्यालय म्याग्दी एकाइका प्रमुख शम्भुकुमार मिश्रले गत वर्षको बाढीले थुपारेको माटो ब्यवस्थापन गरेको तीन दिन नबित्दै पुनः बाढी आएको बताए।
‘बेनी–महारानी थान खण्डको सडक सुधारका लागि निकालिएको माटो पाखोबाट आएको बाढीले बगाउँदा नयाँ ठाउँबाट बाढी बनेर आवास क्षेत्रमा पसेको छ’, उनले भने, ‘बाढीको पूर्ण निणयन्त्र नहुँदासम्म जोखिम हुने भएकाले आवास स्थानान्तरण गर्नुपर्ने देखियो।’
सोही ठाउँमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आवास भवन जोखिममा परेपनि क्षति पुगेको छैन। कृषि ज्ञान केन्द्रको आवास भवन वरपर निर्माण भएको पर्खालले छेकेकाले तुलनात्मक रुपमा कम बाढी पसेको छ।
निर्वाचन कार्यालय जाने सडक भत्किएको छ। सरकारी भवन भन्दा पछाडी करिब दश परिवार बसोबास गर्ने मुस्लिम समुदायको सुकुम्बासी बस्ती छ। पाखो र सडकबाट आउने सुरक्षित र व्यवस्थित निकास नगर्ने हो बाढीले क्षति पुर्याउने देखिएको कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताए।









प्रतिक्रिया दिनुहोस्