कोहलपुर ।
पूर्वी क्षेत्र हुँदै यो वर्षको मनसुन शुक्रबारदेखि नेपाल प्रवेश गरेको छ । जल तथा मौसम पूर्वनुमान महाशाखाका अनुसार बंगलाको खाडी आसपासमा विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबार मध्याहन्नपछि मनसुन नेपाल प्रवेश गरेको हो । प्रदेश १, प्रदेश २ र बागमती प्रदेश आसपासमा मनसुन आएको मौसमविद राजु प्रधानाङ्गले बताए ।
एक दुई दिनभित्र मनसुन देशभर फैलिने महाशाखाले जनाएको छ । आउँदो हप्ता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा तथा केहही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ । यस्तै थोरै स्थानमा निकै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको मौसमविद प्रधानाङ्गले बताए । यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको मौसमविज्ञान विभागले जनाएको छ । वर्षा बढी हुने हुँदा विपदका घटना पनि बढ्न सक्ने तर्फ विभागले सचेत गराएको छ । यसपालि मनसुनी वर्षा औसतभन्दा अधिक हुने भएकाले मौसमविद्ले २ महिनाअघि नै सूचना जारी गरी बाढी, पहिरो, डुबानबाट सुरक्षा हुने उपायको तयारी गर्न सुझाव दिइसकेका थिए ।
१८ लाख बढी प्रभावितको अनुमान
यस्तै मनसुन भित्रिएसँगै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका हुन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरेको थियो ।
उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए । ‘मुख्यतः एक त बढी नै वर्षा हुने आकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेक पनि थप पहिरो खस्ने सम्भावना छ’ उनले भने, ‘गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ ।
त्यसलाई केन्द्रित गरेरै पूर्वतयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ ।’ विगतको तथ्यांक विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको बताउँछन् ।
गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो । सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४ सय मानिसको मृत्यु भएको थियो । एक हजार एक सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना ०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिएको छ ।
प्राधिकरणले पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित र भरपर्दाे बनाउने, अस्थायी आश्रयस्थल तथा तत्कालको राहतका लागि अहिलेदेखि नै व्यवस्थापन गर्ने, ठाउँठाउँ पु¥याउने, घर भत्कियो भने तत्कालै बनाएर आवास व्यवस्थापन गर्ने गरी योजना निर्माण गरिएको प्राधिकरण प्रमुख पोखरेलले बताए । गत वर्षको विपद् क्षेत्रमा गएको हेलिकप्टरले मौसम खराब हुँदा उद्धार र राहतका काम गर्न सकेको थिएन ।
सडकमार्ग हुँदै गएका उद्धार टोली पनि पहिरो र बाढीका कारण समयमै घटनास्थल पुग्न सकेको थिएन । त्यसलाई सिकाइकै रूपमा लिँदै विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । जोखिम क्षेत्रको जानकारीलाई पनि मौसम सूचना प्रणालीमा समावेश गरिनेछ । सोही पूर्वतयारीका लागि बुधबार प्राधिकरणले समन्वयात्मक रूपमा भर्चुअल बैठकसमेत गरेको छ । उक्त छलफलमा भाग लिँदै विपद् पूर्वतयारी सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापाले क्षति न्यूनीकरण नै पहिलो लक्ष्य हुनुपर्नेमा जोड दिए । यसपालि सरदरभन्दा बढी पानी पर्ने आंकलन गरिएकाले यसपटकको मनसुनमा बढी नै तयारीमा लाग्नुपर्ने देखिँदा साझा प्रयासको खाँचो रहेको उनी बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्