भारी वर्षाका कारण भारतमा घर भत्किँदा ९ जनाको मृत्यु, उद्धार जारी



मुम्बई ।

भारतको मुम्बईमा बुधबार राति भारी वर्षाका कारण एक आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ। अन्य मानिस पुरिएको आशंकामा उद्धार प्रयास जारी छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको मलाड पश्चिम क्षेत्रमा बुधबार राति करिब ११ बजेतिर आवासीय चारतले भवन भत्किएको हो।

बृहन्मुम्बई नगरपालिकाका अनुसार मलाडको कलेक्टर कम्पाउन्डमा घर भत्किँदा अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने ८ जना गम्भीर घाइते भएका छन्।

डीसीपी साउथ जोन विशाल ठाकुरका अनुसार अहिलेसम्म महिला तथा बच्चा गरी १५ जनाको उद्धार गरिसकिएको छ। भवनले अरू मानिस पनि थिचिएको आशंकामा उद्धार जारी छ।

आसपासका अन्य ३ भवनको अवस्था पनि जोखिमपूर्ण भएकाले त्यहाँका मानिसलाई अन्यत्र सार्ने क्रम चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २७ गते बिहीबार