डिल्ली शाही ।
बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कुरुवा र बिरामीलाई सहुलियतमा खाना खुवाउने भान्सा घर जेष्ठ १ गतेदेखि निरन्तर सञ्चालनमा छ । नेकपा एमाले जिल्ला कमिटी बाँकेको आयोजनामा कोहलपुर, बैजनाथ कमिटी र युवासंघको व्यवस्थापनमा सो भान्सा घर निरन्तर रुपमा जारी रहेको छ ।
सो भान्सा घरका संयोजक टेक बहादुर शाहीले समस्यामा परेका बिरामी र कुरुवाहरुलाई सेवाहरु दिनका लागि यो भान्सा घर सञ्चालन गरेको बताए । ‘यो भान्सा घरको पहिलो प्राथमिकता भनेको बिरामी र कुरुवा नै हुन्’ उनले भने ‘अहिले यो भान्सा घरमा दैनिक ६ सय जनाले खाना खाने गरेका छन् ।’ बिरामी र कुरुवाहरुलाई खानेपानीको बोतल, जार र तातो र चिसो पानी निःशुल्क रुपमा दिने गरेको उनको भनाई थियो ।
उनका अनुसार हप्तामा ४ दिन दाल, भात र चट्नी सहित अन्डा, दुध, दही, मासु, माछा लगायतका परिकारहरु निःशुल्क र अन्य तीन दिन दाल, भात र चट्नी सहित ३० रुपैयामा सहुलियतमा खाना खुवाउने गरेको संयोजक शाहीले बताए ।
‘खाना खानुभन्दा पहिले साबुनपानीले राम्रोसँग हात धुनका लागि स्वास्थ्य मापदण्ड अनुसारको पूर्ण प्रक्रिया अपनाइएको छ’ उनले भने ‘बिरामी र कुरुवाले खाएको खानाको थालि आफैले धोएर घाममा सुकाएर मात्र अर्को व्यक्तिले खाने गरी व्यवस्था मिलाइएको छ ।’ भान्सा घरमा २० जनाभन्दा बढी व्यवस्थापन टिम छ । उक्त टिमले खाना खुवाउनेदेखि अन्य सेवा समेत प्रदान गर्दै आएको छ ।
यस्तै नेकपा एमाले जिल्ला कमिटिी सदस्य पोष्टराज भुषालले लकडाउनका कारणले सबै होटलहरु बन्द भएको अवस्थामा बिरामी र कुरुवाहरुले खाना नपाएर छटपटाइरहेको देखेपछि निःशुल्क रुपमा गर्न नसकेपनि सहुलियतमा खान खुवाउन सकिन्छ भनेर यो भान्सा घर सञ्चालन गरेको बताए । ‘सहयोगी दाताहरुमार्फत दाल, चामल, तरकारी र अन्य बर्थ डेको अवसरमा सहयोग गर्दै आउनुभएको छ’ उनले भने ‘सामाजिक अभियानमा जोडिएका सबै महानुभावहरुले अहिले सहयोग गरिरहुनुभएको छ ।’
नेकपा एमाले जिल्ला कमिटी बाँकेले कोभिड—१९ का बिरामी र कुरुवाको सेवाका लागि भान्सा घर सञ्चालन ल्याएको छ ।भान्सा घरमा हप्ताको चार दिन निःशुल्क खाना खुवाइन्छ भने अन्य तीन दिन भने एक छाक खानाको ३० रुपैयाँ लिने गरिएको छ । सो भान्सा घरमा दैनिक ६ सय भन्दा बढिले खाना खाने गरेका छन् ।
‘अहिले होटलहरुमा एक छाक खानाको १५० देखि २५० सम्म लिने गरेका छन् सोही अनुसार दुई जना बिरामी र कुरुवाले मासिक ९ हजार देखि १५ हजार खर्च हुन्छ’ उनले भने ‘यो भान्सा घरमा सहयोगी दाताहरुको सहयोग आयो भने निःशुल्क दिने गरेका छौं । यदि सहयोग नआएपनि एक छाक खानाको ३० रुपैयाँ लिने गरेका छौं, जसको मासिक रकम १८ सयमा मात्र रहेको छ ।’ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले अस्पतालले निःशुल्क रुपमा क्यान्टिन उपलब्ध गराएको छ । यस्तै के.एल दुगड ग्रुपले दुई महिनाका लागि चामल र दाल निःशुल्क रुपमा सहयोग गरेको भुषालको भनाइ थियो ।
यस्तै भान्सा घरमा १९ दिनसम्म खाना खाँदै आएका बाँसगढी नगरपालिका वडा नम्बर ४ का कुरुवा ओम प्रकाश विश्वकर्माले आफ्नो जीवनमा पहिलो पटक ३० रुपैयाँमा भरीपूर्ण खाना पाएकोमा निकै खुसी भएको बताए । उनका बुबा एक महिनायता मेडिकल कलेजमा उपचाररत छन् । उनी बुवाको उपचारको लागि २१ दिनयता त्यहाँ रहेका छन् । दैनिक उक्त भान्सा घरमा खाना जान्छन् ।
अस्पतालको परिसरमा बिरामी र कुरुवालाई खाना खुवाउनका लागि तयार गरीएको भान्सा घरमा कहिँलेकाँही खानाको ३० रुपैयाँ तिर्छु नत्र भने निःशुल्कमा नै खाना खाँदै आएको छु । अहिलको ३० रुपैयाँ भनेको त एउटा चिया बराबरको रकम हो । यतिमात्र होइन उहाँहरुले कोभिड—१९ को डर नमानी हाम्रो दुःख साथ दिन, ज्यान नै जोखिममा राखेर हामी जस्ता कुरुवा र बिरामीको सहायता बन्नुभएको छ ।
भान्सा घर सञ्चालन गर्नुभएका सबैलाई धेरै धेरै धन्यवाद समेत दिएका थिए । उनका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा शिक्षण अस्पताल कोहलपुरमा बुवाको उपचारको लागि आएको आज २० दिन भएको बताए । ‘पहिले बुवाको पहिले कोरोना पोजेटिभ भएको थियो’ उनले भने ‘त्यसपछि घर लगेका थियौं, अहिले समस्या भनेको बुवा सुतेपछि उठाउन निकै समस्या हुन्छ, यदि उठिहालेपनि आफै—आफै बरबराउन थाल्नुहुन्छ, उनले भने । यस्तै अन्य कुरुवाहरुले समेत भान्सा घर निकै प्रभावकारी देखिएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्