शिवु खनाल । दाङ ।
कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाका कारण किसानले उत्पादन गरेका तरकारी बारीमै कुहिन थालेका छन् । विक्रिका लागि तयारी अवस्थामा रहेका तरकारी बजारसम्म लैजान व्यापारी नआएपछि बारीमा नै कुहिन लागेका हुन् । लमही नगरपालिका वडा नम्बर ४ घुम्नाका देवीप्रसाद चौधरीले करिब अठार कठ्ठा जग्गामा लगाएको तरकारी विक्रि नहुँदा गाईभैसीको लागि दानाको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता भएको बताए ।
‘स्थानीय बजारसम्म तरकारी पु¥याएको र पु¥याएको तरकारी पनि विक्रि नभएपछि बारीमै सड्न थालेको छ’ उनले भने, ‘तरकारी विक्रि नहुँदा बारीमा काटेर फाल्नुपर्ने अवस्था सृजना भएको छ ।’ कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि दाङसहित देशका अधिकांश जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ ।
त्यसको मारमा अहिले यहाँका किसानहरु समेत परेका छन् । ‘वरपरका स्थानीय बजार पूर्णरूपमा बन्द रहेका छन्’ चौधरीले भने, ‘गतवर्षको बन्दाबन्दीले भन्दा यसवर्ष निषेधाज्ञाले किसानलाई बढी घाटा पु¥याएको छ । बारीमा भिन्डि, बोडि, करेला, लौका, भान्टा लगायत अन्य तरकारी त्यतीकै कुहिन थालेका छन् ।’
यस्तै गढवा गाउँपालिका वडा नम्बर ५ नम्बर बोदिपुरका हेमनारायण चौधरीले ६ कठ्ठा जग्गामा लगाएको तरकारी त्यतीकै बारीमा थन्किएको बताए । गतवर्ष भन्दा यसवर्ष झनै घाटा हुने बताउँदै उनले यसपाली तरकारी खेतीमा लगाइएको लगानी समेत उठाउन हम्मे–हम्मे भएको दाबी गरे । विक्रिका लागि तयारी अवस्थामा रहेको तरकारी बारीमै थन्किदा दाङ सहित विभिन्न जिल्लाका किसानहरु चिन्तित भएका छन् ।
व्यवसायी रुपमा तरकारी खेती गर्दै आएका किसानहरु कोभिडका कारण दुई वर्ष यता निकै मारमा परेका हुन् । किसानहरुले उत्पादन गरेको तरकारीहरु यतिबेला स्थानीय बजार एवम् जिल्लाका विभिन्न बजारमा खपत हुन्थ्यो । तर, निषेधाज्ञाका कारण तरकारीहरु बारीमै सड्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्