कोरेक्ससहित तीनजना पक्राउ



कोहलपुर ।

बाँकेमा लागू औषध कोरेक्ससहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले १ सय ७ सिसि कोरेक्ससहित तीन जनालाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा पुगेको प्रहरीको विशेष टोलीले नेपालगञ्ज उपमहानगरपालिका, १४ बाबुगाउँबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

सोमबार राती पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका वडा नम्बर, ६ का १९ वर्षीय सरफत अली शेष र सोही ठाउँ बस्ने १८ वर्षीय अशोक कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । त्यसैगरि डुडुवा गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय प्रसाद वनियाँलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका अन्य दुई जनाले वनियाँको समेत नाम लिएपछि पक्राउ गरिएको उनले बताए । निषेधाज्ञाको मौका छोपेर उनीहरुले भारतर्फबाट साइकलमा राखेर लागू औषध कोरेक्स नेपालगञ्जतर्फ ल्याउँदै गरेको बाँके प्रहरीले जनाएको छ । बाबुगाउँमा लागू औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष टोलीले राती नै खटिएको थियो ।

सोही क्रममा साइकलमा रहेका उनीहरुलाई चेकजाँच गर्दा १ सय ७ सिसि लागू औषध कोरेक्स बरामद गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । पक्राउ परेका तीनै जनामाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

फरार थापा पक्राउ

लागू औषध मुद्दामा संलग्न फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँके खजुरा गाउँपालिका वडा नम्बर २ का १९ वर्षीय दिपक थापालाई पक्राउ गरिएको हो । गत पुस २ गते जिल्ला अदालत बाँकेको फैसलाले १ महिना ४ दिन कैद तोकिएको थियो ।

त्यस लगत्तै हालसम्म उनी फरार रहेका थिए । पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १९ गते बुधबार