बजेटमा आ–आफ्नै तर्क वितर्क : मेरो प्रश्न : बजेट के युवामुखी पनि छ त ?



नेपालको इतिहासमा पहिलोपटक अध्यादेश मार्फत बजेट आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो । विपक्षी दलहरुको विरोधका बाबजुत सरकारले ल्याएको बजेटमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले सबै भन्दा बढी शिक्षा क्षेत्रको लागि बजेट छुट्याएको छ । कोरोना संक्रमण प्राथमिकतामा परेको छ । भने खोप खरिदका लागि समेत उल्लेख्य बजेट विनियोजन गरिएको छ । सरकारले चुनावीमुखी जनता रिझाउने खालका कार्यक्रम समेत ल्याएको छ । जेष्ठ नागरिकको भत्ता बृद्धि देखि कर्मचारीको तलब बृद्धि र व्यवसायीहरुलाई कर छुटे दिनेसम्मका बजेटमा समावेश छन् । सरकारले पत्रकारहरुको निःशुल्क उपचारदेखि बिमा गर्ने सम्मका कार्यक्रम ल्याएको हो । बजेटका विषयमा सरकार र सरकार इतरका पक्षले आ आफ्नै तर्क वितर्क गरेका छन् । सरकारी पक्षले उत्कृष्ट बजेट आएको बताएको छ । भने विपक्षीहरुले भने सरकारले चुनाव केन्द्रीत जनता भड्काउने बजेट ल्याएको टिप्पणी गरेका छन् । बहुसंख्यकहरुको चिन्ता भने बजेट कार्यान्वयनमा रहेको छ । यसमा स्वयम सत्ता पक्षका प्रतिनिधि समेत ढुक्क हुने अवस्थामा छैनन् । सरकारले शनिबार प्रस्तुत गरेको बजेटका विषयमा हामीले विभिन्न क्षेत्रका नागरिक, राजनीतिककर्मी र युवाहरुको प्रतिक्रिया समेटेका छौँ । मिसन टुडे दैनिकसँगको कुराकानीमा उनीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

अमर बिष्ट  (समाजसेवी, युवा) हाल अमेरिका


कति कक्षा पास भएको सर्टिफिकेटले कति ऋण प्राप्त गर्न सक्ने हो ? यहाँ इन्जिनेरिङ्ग गरेकाहरु खाडीमा पसिना बगाउदैछन । हुन त जन्मेदेखी नै हरेक नेपालीको टाउकोमा ऋणको भार लिएर नै जन्मिन्छौ । कोभिड– १९ ले थलिएको अवस्थामा अक्सिजनको हाहाकार भईरहेको छ । यो सरकारले अक्सिजनको एउटा सिलिन्डर भरेर दिन नसक्ने अवस्थामा, पैसा तिर्न तत्पर हुँदा समेत उपलब्ध गराउन नसक्ने परिस्थितिमा, युवाहरुलाई शैक्षिक ऋण कसरी उपलब्ध गराउछ ? मलाई, जान्न मन लागेको एउटा प्रश्न, यो भन्दा अगि पनि विद्यार्थीका लागि भनेर बजेट छुट्याइएको थियो । कति जना युवाहरुले त्यसको लाभ लिए होला ?

यो बजेट केवल आम नेपाली नागरिकका लागि नभएर यो राजनैतिक वा चुनावी प्रचारका लागि मात्र हो । विश्वास गुमाएको सरकारले ल्याएको अविश्वासिलो बजेट लोकप्रिय बन्ला तर प्रभावकारी बन्न सक्दैन । अघिल्लो बर्षको शैशिक बजेट कहाँ पारित र प्रभावकारी भयो ? आफ्नो सर्टिफिकेट राखेर ऋण निकाल्ने कुरा सम्भव छैन । घर जग्गा धितो राखेर त बैंकले ऋण दिनैन, बैकले सम्पत्ती हेर्छ, आउने स्रोत हेर्छ ।
फल नदिने सर्टिफिकेट राखेर कसरी ऋण दिन्छ भन्ने आस गर्नु ? कतै युवाहरु चक्कर लगाउदा लगाउदै डिप्रेसन र आत्महत्याको सिकार हुनु पर्ने त होइन ?

आसेपासे, नेताका भाईभतिजालेले लाभ लिए पनि समग्रमा यो युवाहरुलाई खाडी लखट्ने ग्राण्ड डिजाइन हो । शैशिक ऋण दिएर भन्दा खाडी लखटेर सरकारलाई फाईदा हुन्छ भने सरकारले किन घाटाको खेल खेल्छ र ? सरकारले चेस खेल्दै छ । हामी युवाहरु पिउसो बनिरहेका छौ । संसद बिघटनको मुद्दाको टुङो लागेर फेरी पुर्नस्थापित भएछ भने पनि आर्थिक संकट ल्याएर भए पनि लज्जा बिहिन बुढो मुडोले कुर्सी छाड्ने छैन । यि सब राज गर्ने फोहोरी खेल मात्र हो । यो बजेटले ‘यि त सब भन्ने कुरा न हुन’ भन्ने गीतको स्मरण गराएको छ । तसर्थ युवाहरु, सरकार मरेको देशमा आफ्नै लगनशिलता र मेहनतमा आँफै जागरुक बनौ । बजेटको पिप्लामेन्टले तपाईंलाई असर नगरोस ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार