कोहलपुर ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन् । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो ।
स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन’ भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले भने, ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थिए । अन्ततः उनको मृत्यु हुन गयो ।’ उनको मृत्युपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ३ जना नर्स र एक जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएका थिए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटीलखेटी आक्रमण गरेका थिए ।
उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको भेरी अस्पताल प्रशासनले जनाएको छ । ‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ’ डा. थापाले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् ।’ उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थिए ।
ज्यानको बाजी लगाएर, पानी समेत नखाई बिरामीको सेवामा निरन्तर खटिंदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखटिने बताएको भेरी अस्पतालका प्रवक्ता डा. संकेत रिसालले जानकारी दिए । सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ । घटनालगत्तै बिहीबार रातीदेखि नै भेरी अस्पताल तनावग्रस्त बनेको थियो ।
सुरक्षाको माग राख्दै स्वास्थ्यकर्मी रातीदेखि नै कामकाज रोकेर आन्दोलनमा उत्रिएका थिए । भेरी अस्पताल परिसरमा भेला भएर स्वास्थ्यकर्मीले पीडकमाथि कारवाहीको माग गर्दै प्रहरी, प्रशासनविरुद्ध नारा लगाइरहेका हुन् । स्वास्थ्यकर्मीमाथि आक्रमणपछि आपूm लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेलको मान्छे भएकाले कसले के गर्न सक्छ भन्दैै आक्रमणकारीले थप धम्काएपछि बिहीबार मध्यरातिसम्म अस्पताल परिसरमा स्वास्थ्यकर्मी आन्दोलित भएका थिए ।
उनीहरुले अस्पतालमा राजनीति गर्न नहुने, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइँदैन लगायतका नारा पनि लगाएका थिए । नेपाल चिकित्सक संघलगायतका स्वास्थ्यकर्मीका १५ वटा संघसंस्थाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारबाही, स्वास्थ्यकर्मीको उचित सुरक्षा व्यवस्था गर्न माग गर्दै जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनरत स्वास्थ्यकर्मी घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेका थिए ।
शुक्रबार दिउँसो घटनामा संलग्नलाई कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको थियो । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले समेत घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । महामारीको समयमा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै चौतर्फी विरोध भएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।
कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गरेको भन्दै बाँके प्रहरीले मृतकका भाई र दुई छोराहरु गरेर तीन जनालाई नियन्त्रणमा लिइसकेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओम बहादुर रानाले घटनामा संग्लन रहेका मृतकका भाई मानबहादुर रावत तथा छोराहरु भरत रावत र लोकबहादुर रावतलाई पक्राउ गरिएको जानकारी दिए ।
तीन जनाविरुद्ध किटानी जाहेरी
भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा तीन जनाविरुद्ध बाँके प्रहरीमा किटानी जाहेरी परेको छ । भेरी अस्पताल प्रशासनले तीनजना विरुद्ध किटानी जाहेरी दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । अस्पताल प्रशासनले चिकित्सकमाथि आक्रमणमा संलग्न रहेको भन्दै लोकबहादुर रावत, मानबहादुर रावत र भरत रावतमाथि किटानी जाहेरी दिएको
हो ।
अस्पताल प्रशासनले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि किटानी जाहेरी दिएको बताएको छ । अस्पतालका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै घटनामा संलग्न अन्य व्यक्तिहरुबारे थप अनुसन्धान गरी कानुनी दायरमा ल्याइ कारबाही प्रक्रिया अगाडि बढाउन प्रशासनसँग आग्रह गरेका छन् । चिकित्सकमाथि सांघातिक आक्रमण गर्ने समूहमाथि कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढीसकेको भन्दै अस्पताल प्रशासनले आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई काममा फर्कन आह्वान समेत गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानाले स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर लगायतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको जानकारी दिए । उनीहरुविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको उनले बताए । उनीहरु तीनै जनामाथि बिहीबार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको तथा अस्पताल तोडफोड गरेको आरोप लागेको छ । आरोपीलाई बाँके जिल्ला अदालतले शुत्रबार ५ दिन थुनामा राखेर अनुसन्धान गर्न बाँके प्रहरीलाई अनुमति दिएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्