१५ दिनमा खाेप खरिदकाे विषय टुङ्गाे लाग्छ : मन्त्री ज्ञवाली



काठमाण्डाै – परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा काेभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताउनुभएको हो ।

यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खाेप आउँदाे आइतवार नेपाल आउने पनि बताउनुभयो । बाँकी आठ लाख डोज खाेप आउँदो मङ्गलवारसम्ममा आउने उहाँले बताउनुभयो ।

गएकाे बुधवार (अस्ति) राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजपिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

यसैबीच कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप दोस्रो डोजका रूपमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५ वर्षमाथिका झन्डै साढे चार लाख ज्येष्ठ नागरिकलाई एस्ट्राजेनेकाको खोप लगाउने तयारी गरेको हो ।

भारतले कोभिशिल्ड खोप निर्यातमा प्रतिबन्ध लगाएपछि तत्काल खोप आउने सम्भावना नभएकाले त्यसको विकल्पमा एस्ट्राजेनेकाको खोप दिने तयारी गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखा निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कोभ्याक्सलाई एस्ट्राजेनेका वा जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराइदिन सिफारिस गरिसकिएको छ । साभार उज्यालो

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १४ गते शुक्रबार