शुुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले विपन्न कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको छ । नेपाल सरकारको नीति अनुसार अस्पतालले विपन्न कोरोना संक्रमित बिरामीहरुको निःशुल्क उपचार गर्न शुरु गरेको हो । मेडिकल कलेज अन्तर्गत रहेको सामाजिक सेवा इकाईले अस्पतालमा उपचारको लागि आएका र आफ्नो आर्थिक अवस्थाले उपचार असम्भव भएको घोषणा गरेकाहरुको निःशुल्क उपचार गर्न थालिएको हो । यसअघि अस्पतालमा उपचारको लागि आएका संक्रमितहरुले पैसा पेमेन्ट गरेर उपचार गर्दै आइरहेका थिए ।![]()
इकाईका उप–प्रमुख अब्दुल हुसेन खाँले मेडिकल कलेजमा यस क्षेत्रका सम्पूर्ण कोरोना संक्रमितको निःशुल्क उपचार शुरु गरेको जानकारी दिए । उनका अनुसार अस्पतालले विपन्न कोरोना संक्रमित नागरिकहरुको उपचार गर्नेछ । उनीहरुलाई चाहिने बेड, औषधि तथा अन्य आवश्यक सम्पूर्ण कुराको सेवा निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ । कुनै पनि कोरोना संक्रमितले आफू विपन्न भएको र आर्थिक अवस्था कमजोर भएको भन्नको लागि केही कागजात भने बुझाउनु पर्नेछ ।
कुनै पनि कोरोना संक्रमितले आफू विपन्न भएको र उपचारको लागि सक्षम नभएको घोषणा गर्दै पीसीआर पोजेटिभको रिपोर्ट, नागरिकताको फोटोकपी,दुई प्रति फोटो,सम्बन्धित पालिकाको विपन्नताको सिफारिस मेडिकल कलेजको सामाजिक सेवा इकाईमा बुझाउनु पर्ने उप–प्रमुख खाँको भनाइ छ । ‘मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कतिपयले उपचार नपाएरका छटपटाउनु पर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारको नीति अनुसार नै निःशुल्क उपचारको व्यवस्था गरिएको हो । विपन्न कोरोना संक्रमितका लागि यो निकै ठूलो अवसर हो । ’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।
यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका उप–निर्देशक तथा कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले अबदेखि अस्पतालमा आउने सम्पूर्ण बिरामीहरुको निःशुःल्क उपचार हुने जानकारी दिए । तीन प्रदेशको कोभिड अस्पतालका रुपमा रहेको कोहलपुरमा एक महिनाको अवधीमा ५ सय ५० जनाको उपचार भइरहेको छ । ती मध्ये ३ सय १६ कोरोना संक्रमित निको भएका
छन् ।
अहिलेसम्म अस्पतालमा उपचाररत ८४ जनाको मृत्यु भएको उनको भनाइ छ । दुई जना कोरोना संक्रमितको डायलासिस, १४ जनाको जटिल अप्रेसन गरिएको छ । अहिलेसम्म प्रयोगशाला मार्फत ५ हजार ५ सय जनाको पीसीआर परिक्षण सम्पन्न भएको छ । अस्पतालमा हाल १ सय ३० वटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय ३० बेड रहेका छन् । ती मध्ये ४५ बेड आइसियू र ८५ जनरल बेड रहेको उनले बताए ।
अहिले पनि १ सय २१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । आइसियूमा ४० जना रहेका छन् । हामीले पहिला पनि विपन्नहरुको निःशुल्क उपचार गरिरहेका थियौँ । धेरैले पैसा दिएर पनि उपचार गर्नुहुन्थ्यो । अब भने अस्पतालमा आएका सबैको निःशुल्क उपचार हुन्छ । विपन्न भएको र सम्बन्धित कागजात भने उपलब्ध गराउनुपर्नेछ ।’ श्रेष्ठले भने ।









प्रतिक्रिया दिनुहोस्