वन्यजन्तु जोगाउन ब्रेकर हटाइयो



बर्दिया 

बर्दियामा सडकमा लगाइएका बे्रकर हटाउन थालिएको छ । वन्यजन्तुबाट जोगिन भन्दै बनाइएका ब्रेकरका कारण मानवीय दुर्घटना बढ्न थालेपछि ब्रेकर नै हटाउन थालिएको हो । जिल्लाको मधुवन नगरपालिकाको सहयोगमा प्रशासनले ती ब्रेकर हटाउन थालेको हो ।

यहाँको हुलाकी सडक अन्तर्गत खाता जैविक मार्गमा लगाइएका ब्रेकर हटाउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको
छ । उक्त क्षेत्रमा करिब डेढ किलोमिटर सडक खण्डमा १० वटा ठूला ब्रेकर बनाइएको थियो । सवारी साधनबाट वन्यजन्तुको क्षति नहोस् भन्दै करिब ८ महिनाअघि ती ब्रेकर निर्माण गरिएका थिए ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले वन्यजन्तुभन्दा मानवीय क्षति हुन थालेपछि ब्रेकर हटाइएको जानकारी दिए । उनका अनुसार ब्रेकरका कारण मानिसको ज्यान नै जान थालेपछि स्थानीय बासिन्दाले प्रशासनसँग ती ब्रेकर हटाउन माग गर्दै आएका थिए ।
ब्रेकरका कारण एकातिर दुर्घटना बढेको र अर्कोतर्फ वन्यजन्तुको आक्रमणको सिकार पनि बन्नु परेपछि ती ब्रेकर हटाउन थालेको प्रशासनको भनाइ छ ।

ब्रेकर हटाइएपछि स्थानीयवासी खुसी भएको राजापुर उद्योग वाणिज्य संघका महासचिव केदार थापाले बताए । गत असारयता यस जैविक मार्गमा बाघको आक्रमणमा ६ जनाको मृत्यु भइसकेको छ । यस क्षेत्रमा जताततै दिनहुँ बाघ देखिन थालेको सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतले बताए । बिहीबार यहाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषको विशेषज्ञ टोलीले एउटा बाघ नियन्त्रणमा लिएको थियो । यो जैविक मार्ग भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोडिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ चैत ८ गते आइतबार