संसद पुनःस्थापनाको स्वागतमा दीप प्रज्वलन



कोहलपुर 

बाँकेमा संसद पुनःस्थापनाको स्वागतमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय वदर गरे लगत्तै नपाल कम्युनिष्ट पार्टी (नेकपा) कोहलपुर कमिटिको आयोजनामा कोहलपुरको चौराहमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।

नेकपाका नेता कार्यहरुले चौराहको सडकमा दीप बालेर उक्त निर्णयको स्वागत गरेका हुन् । दीप प्रज्वलन कार्यक्रमका प्रतिनिधि सभा सदस्यद्धय महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको सहभागिता रहेको थियो ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज(अथक)ले संविधानको रक्षा र नेपाली जनताको विजय भएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले हारेको बताए। उत्साहित हुँदै उनले भने, ‘नेपाली जनताले जितेका छन् हाम्रो आन्दोलनले जित हासिल गरेको छ। हामी खुसी छौ। सबैले खुसीयाली मनाउनु पर्छ।’ यस्तै उनले अब केपी ओलीले नैतिकताको आधारमा तुरुन्त पदबाट राजिनामा दिनुपर्ने बताए ।

अब ओलीको प्रवृत्तिको अन्त्य भएको उनको भनाइ थियो ।यस्तै प्रतिनिधिसभा सदस्य पुर्णाकुमारी सुवेदीले देशलाई अस्थिरता तर्फ धकेल्ने कदमलाई परास्त गरेको बताइन् । उनका अनुसार अदालतले नेपालमा न्याय जिवित छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आगामी संसदमा महाअभियोग लगाइने उनको भनाइ थियो ।

दीप प्रज्वलनमा नेकपा नेता कार्यकर्ताको सहभागीता रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको निर्णय अनुमोदन गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन १२ गते बुधबार