‘युवा आन्दोलन कता लैजाने भन्ने कुराको सन्देश जान्छ’



राष्ट्रिय युवा संघको महाधिवेशनकोे तयारी पूरा भयो ?

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । आज दिउँसो भव्य समारोहका बीच महाधिवेशनको उद्घाटन हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुनेछ । खुलासभालाई पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । २७ गतेदेखि २९ गतेसम्म नेपालगन्जमा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको र स्थानीय आवास तथा खाद्य व्यवस्थापन भइसकेको छ ।

महाधिवेशनको आयोजनास्थल नेपालगन्जस्थित स्नेह होटेलमा मञ्च व्यवस्थापन गरिएको छ ।
यसैगरी, कोहलपुरदेखि कार्यक्रमस्थलसम्म महाधिवेशनसम्बन्धी झन्डा र ब्यानर लगाइएको छ । ठाउँठाउँमा स्वागतद्वार पनि राखिएका छन् । महाधिवेशनको तयारी पूरा भएको छ ।

महाधिवेशनको उद्घाटन सत्रको खुलासभालाई को–को सम्बोधन गर्दैछन् ?

उद्घाटनको कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इञ्चार्ज भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य महेश बस्नेतलगायतका नेताले सम्बोधन गर्नुहुनेछ । यसैगरी समारोहमा कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवी ओडलगायतले प्रस्तुति दिने कार्यक्रम तय भएको छ । नवौं राष्ट्रिय महाधिवेशसनमा नेपालका ७७ जिल्लाबाट प्रतिनिधिहरु आउनेक्रम जारी छ । हाम्रा मित्र देशका २६ देशका विदेशी पाहुनाहरुसमेत आउनु हुनेछ । उद्घाटन समारोह स्नेहा होटेलको अगाडि हुनेछ ।
बाँकेमा रहनु भएका सम्पूर्ण आमाबुवा दाजुभाइ, दिदीबहिनीहरुलाई पार्टीका अध्यक्षले समग्र बाँकेको विकासको बारे के भन्नु हँुदैछ, त्यो कुरा सुन्नका लागि पनि तपाईंहरु आउनुपर्छ । १२ बजे नेपालगन्जको स्नेहा होटेलमा आउनुहुन अनुरोध छ ।

 

सूर्य ढकाल
संयोजक, जनपरिचालन समिति
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन

महाधिवेशनमा सहभागी हुनेहरुको लागि व्यवस्थापन कसरी मिलाइएको छ ?

व्यवस्थापनको जिम्मा हाम्रो हो । आउने पाहुनाहरुलाई कुनै पनि कुराको कमी हुन दिइने छैन । खानेपानीदेखि शौचालयसम्मको सम्पूर्ण तयारी पूरा भइसकेको छ । वडा कमिटीले आर्थिक परिचालन सबैको कुराको व्यवस्थापन गरेको छ । यो महाधिवेशन ऐतिहासिक हुनेछ । पाहुनाहरुलाई नेपालगन्जको सत्कार र सम्मानको कुनै कमीको महसुस हुन दिने छैनौं ।

महाधिवेशनमा कतिजना सहभागी हुँदैछन्, कहाँकहाँबाट सहभागी हुन्छन् ?

नवांै राष्ट्रिय महाधिवेशनमा ७७ जिल्लाबाट प्रतिनिधिहरु सहभागी हुने छन् । कूल दुई हजार युवा प्रतिनिधिहरुको सहभागिता रहनेछ । यस्तै यो महाधिवेशनमा २६ देशका विदेशी पाहुनाहरु पनि सहभागी हुँदैछन् । यस्तै बाँके जिल्लाबाट व्यापक सहभागिता हुनेछ । बाँकेका ८१ वटै वडाबाट प्रतिनिधिहरु आउँदैछन् । व्यापक सहभागिताका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यहरु नै लागि परेका छौं । यस्तै जनवर्गीय संगठनबाटसमेत सहभागी हुन्छन् । कूल पाँच हजारभन्दा बढी सहभागी हुने छन् ।

महाधिवेशनको कार्यतालिका कस्तो छ ?

पहिलो दिन महाधिवेशनको बृहत् जनसभासहित उद्घाटन हुनेछ । महाधिवेशनको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । देशमा पार्टीका शीर्ष नेतासहित अन्य पार्टीका प्रभावशाली नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अन्य थुप्रै केन्द्रीय नेताहरुको सहभागिता रहनेछ । उद्घाटनमा ८१ वटै वडाबाट व्यापक जनसहभागिता हुनेछ । टोल सरसफाइ कार्यक्रम सकिसकेको छ । २५ गते भेरी अस्पतालमा लेवर रुममा फलफूल वितरण पनि गरिसकेका छौं । निबन्ध प्रतियोगिता सम्पन्न भइसकेको छ । त्यसको पुरस्कार वितरण हुन्छ । दोस्रो दिन विभिन्न प्रस्तुत हुन्छन् । तेस्रो दिन नयाँ नेतृत्व चयन हुन्छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

यो महाधिवेशन बाँके जिल्लाका लागि सम्भावना हो । यसले अबको देशको युवा आन्दोलन कता लैजाने भन्ने कुराको सन्देश दिनेछ । यहाँको आन्तरिक पर्यटन प्रवद्र्धन हुनेछ । होटेल व्यवसाय फस्टाउनेछ । राजनीतिक केन्द्रको रुपमा समेत स्थापित हुनेछ । महाधिवेशनको उद्घाटनसत्र व्यापक हुनेछ । हजारौंको जनसहभागिता हुनेछ । ७७ वटै जिल्लाका पाहुनाहरुको स्वागतका लागि हामी तयार छौं । बाँके जिल्लाको विकासमा सघाउ पुग्ने भएकोले सम्पूर्णमा सहभागिताका लागि अनुरोध गर्न चाहन्छु ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत २७ गते सोमबार