मैत्रीपूर्ण ब्याडमिन्टन सुरु



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा अन्तर पुर्नस्थापना मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको समन्वय तथा बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको शुक्रबार बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी र ब्याडमिन्टन संघका अध्यक्ष सञ्जयले थापाले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रहरी उपरीक्षक रानाले विभिन्न विकृति विसंगतिमा मानिसहरु जानेर नजानेर फसिरहेको भन्दै उनीहरुलाई सही बाटोमा ल्याउने माध्यम खेलकुद रहेको बताए । ‘पछिल्लो समय युवाहरु जानेर नजानेर विभिन्न विकृति विसंगतिमा फसिरहेका छन्’ उनले भने, ‘त्यस्ता युवाहरुलाई सही बाटोमा ल्याउनको लागि खेलकुद एउटा माध्याम बन्नसक्छ ।’

सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष जोशीले लागूऔषधको दुव्र्यसनीमा फसेकालाई सही मार्गमा ल्याउने माध्यम खेलकुद रहेको बताए । पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई खेलकुदका माध्यमबाट सकारात्मक, सबल र जागरुक बनाउन प्रतियोगिता सफल हुने उनले विश्वास लिएका थिए । सोही उद्देश्यले नै मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको उनले जानकारी दिए ।

प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको आयोजक जिल्ला ब्याडमिन्टन संघ बाँकेले जनाएको छ । प्रहरी ब्यामशालामा भइरहेको प्रतियोगिता आज समापन हुने आयोजक जिल्ला ब्याडमिन्टन संघ बाँकेका अध्यक्ष थापाले जानकारी दिए । प्रतियोगितामा नेपालगञ्ज र कोहलपुरमा रहेका पुर्नस्थापना केन्द्रहरुमा बसिरहेकाहरुको सहभागिता रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ फागुन ८ गते शनिबार