कर्णालीमा ८२ हजार हेक्टर जमिन बाँझै



सुर्खेत 

कर्णाली प्रदेशमा कुल खेतीयोग्य जमिन मध्ये ८२ हजार हेक्टर जमिन बाझै छ । यहाँका कुल ५९ प्रतिशत नागरिक मुख्य पेसाको रुपमा कृषि पेसामा संलग्न छन् । प्रदेशको २ लाख ९९ हजार ३३९ हेक्टर जमिन खेतीयोग्य छ ।खेतीयोग्य जमिनमध्ये १ लाख ४८ हजार ५४५ हेक्टर जमिनमा सिँचाइको सुविधा छैन। कर्णालीमा वर्षेनी ३४ हजार ८७८ मेट्रिक टन खाद्यान्न अभाव हुने गर्दछ ।

त्यसैले अहिले पनि साविकको कर्णाली अञ्चजका पाँच जिल्ला डोल्पा, हुम्ला, मुगु, कालिकोट, जुम्ला र जाजरकोटवासी खाद्य संस्थानको चामलको भरमा गुजारा गर्छन् । यहाँको २ लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिन्छ। खेती गरिएको क्षेत्रमध्ये पनि ६८ हजार ३३५ हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ पुगेको छ। सिँचाइ सुविधा पुगेको क्षेत्रमध्ये पनि ३ हजार ८३३ हेक्टर क्षेत्रफलमा मात्रै वर्षभरि सिँचाइ हुन्छ ।

आकाशे पानीकै भर पर्नुपर्ने बाध्यताले कर्णाली खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको कृषि विकास निर्देशनालयले जनाएको छ। कृषि निर्देशक चित्रबहादुर रोकाया उच्च पहाड र हिमाली क्षेत्र भएकाले सबै ठाउँमा सिँचाइ सुविधा पु¥याउन नसकिएको बताउँछन् । उनका अनुसार कर्णाली र भेरी जस्ता ठूला जलस्रोतहरु कर्णाली प्रदेशमै छन्। तर भेरी र कर्णाली नदीबाट डाँडाकाँडामा सिँचाइ पु¥याउन कति वर्ष कुर्नुपर्ने हो त्यसको टुंगो छैन। उनले नदीको पानी डाँडामा पु¥याएर सिँचाई गर्ने ल्याकत कर्णालीवासीसँग नरहेको उनको भनाइ छ ।

थोपा सिँचाइ प्रविधि र लिफ्ठ आयोजनाबाट सञ्चालन गर्नसके उत्पादन बढाउन सकिने निर्देशनालयले जनाएको छ। कर्णाली प्रदेशमा २ लाख ९९ हजार ३३९ हेक्टर खेतीयोग्य जमिन छ । खेतीयोग्य जमिनमध्ये ८२ हजार ४ सय ५९ हेक्टर क्षेत्रफल बाँझै छ। तथ्यांकअनुसार सुर्खेतमा सबैभन्दा बढी १७ हजार ७५६ हेक्टर खेतीयोग्य जमिन बाँझो छ।

कालिकोटमा ९ हजार २३४, मुगुमा ९१९ र हुम्लामा ३ हजार ५९८ गरी कुल ८२ हजार ४५९ हेक्टर खेतीयोग्य जमिन बाँझै छ । यस्तै रुकुम पश्चिममा १० हजार २३४, सल्यानमा ६ हजार ६१७, दैलेखमा ८ हजार ६२४, जाजरकोटमा ८ हजार ६८६, डोल्पामा २ हजार ७४०, जुम्लामा १४ हजार ५१ रहेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ माघ २४ गते शनिबार