कोहलपुर ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि सल्यानका तीन विद्यालय केही दिनका लागि बन्द गरिएको छ । केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि विद्यालयहरु बन्द गरिएको हो । जिल्लाको बनगाड कुपिन्डे नगरपालिकामा रहेका तीन विद्यालयका शिक्षक र विद्यार्थी गरी १६ जनामा संक्रमण देखिएपछि एक साताका लागि विद्यालयहरु बन्द गरिएको छ ।![]()
प्रभाकर माध्यमिक विद्यालय देवस्थल, मुक्ति माध्यमिक विद्यालय हिले पोखरी र गंगा प्राथमिक विद्यालय बन्द गरिएको नगर प्रमुख गोविन्द पुनले बताए । तीनवटा विद्यालयका ४६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा शिक्षक र विद्यार्थी गरी १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको बताइएको छ । तीनवटै विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना हुनसक्ने सम्भावना देखिएपछि सबैजनाको स्वाव संकलन गरी पीसीआर परीक्षणका लागी सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।
‘शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि तत्कालका लागि पठनपाठन पूर्ण रुपमा प्रभावित भएको छ’ नगर प्रमुख पुनले, ‘सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न सकिदैन ।’ सरकारको निर्णय अनुसार चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरु केही महिना अघिदेखि सञ्चालनमा आइसकेका छन् । सरकारले तोकेको मापदण्ड अनुसार मात्र शैक्षिक संस्था खोल्नुपर्ने बताइएपनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । जिल्लामा बन्द रहेका तीन विद्यालय अन्य आउने रिपोर्टको आधारमा कहिलेबाट खोल्ने भन्ने टुङ्गो लाग्ने नगर शिक्षा शाखाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्