सम्पादकीय : लोकतन्त्र र चुनाव



लोकतन्त्र अहिले खतरामा पर्ने सम्भावना देखिएको छ । अर्कातिर सरकार चुनाव गर्ने भनिरहेको छ । लामो समयदेखी कोरोनाको कहर बाँकि नै छ । दुइतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद सुल्झाउन नसकेर जनताको प्रतिनिधि संस्था संसद विघटन गरिदिए । पुस ५ पछिको राजनीतिक अवस्था हेर्दा सन्तुष्ट हुनुपर्ने अवस्था छैन । अहिले देशभित्रको अवस्था भद्रगोल छ । सबै दल र जनता व्यवस्था रक्षाको लागि भन्दै आन्दोलन गरिरहेका छन् । सत्ताधारी पार्टी फुटको संघारमा छ । प्रतिपक्ष दल पनि आन्दोलनमा छ । लोकतन्त्रको लागि लामो समय आन्दोलन गर्दै आएको नागरिक समाज निरन्तर सडकमा आइरहेको छ । एकातिर लोकतन्त्र रक्षाको सवाल अर्कातिर लोकतन्त्र कै सुन्दर पक्ष मानिने निर्वाचन दबाबमा छ व्यवस्था ।

जनताको रगत, पसिना र बलिदानबाट प्राप्त भएको हो, लोकतन्त्र । निर्वाचनको माध्यमबाट निर्माण गरिएको हो,संविधान । चुनाव र लोकतन्त्र संविधानका अंग हुन् । संविधान माथि प्रहार हुुनु भनेको लोकतन्त्र खतरामा पर्नु हो । अहिले देशको प्रधानमन्त्रीले संसद विघटन गरेका छन् । संविधान अनुसार प्रधानमन्त्री संसद विघटनको अधिकार छैन ।त्यसैले सचेत नागरिकले एकै स्वरले भनेका, यो कदम असंवैधानिक हो । यो संविधान माथिको हमला हो । प्रहार हो । तानाशाही प्रवृत्ति हो । यस्तो प्रवृत्तिका विरुद्ध हामी एकजुट हुनैपर्छ । नत्र भने भोलीका सन्ततीले दुःख पाउनेछन् । त्यसैले हरेक सचेत नागरिकले लोकतन्त्रको रक्षाको लागि अघि बढ्नु पर्ने देखिएको छ । त्यसैले अहिले बास्तव मै लोकतन्त्र खतरामा छ । यो खतराबाट जोगाउनु हरेक देश भक्त नागरिकको कर्तव्य हो ।

अर्कातिर अहिले सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्था छ । सोही अनुसार निर्वाचन आयोग र सुरक्षा निकाय लगायतले निर्वाचनको तयारी थालिसकेका छन् । जिल्लामा समेत यसको तयारी भइरहेको अवस्था छ । संसद विघटनको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा निर्वाचन गतिविधि बढिरहेकोले मानिसमा अन्यौल कायमै छ । तर सरकारी निकायले तयारी गर्नु र प्रधानमन्त्रीका अभिव्यक्तिले कामचलाउ सरकार जसरी पनि निर्वाचन गराउँन चाहन्छ । । तर सरकारले भनेको जस्तो निर्वाचन हुने वा नहुने अहिले पनि दोधारै छ । त्यसैले अहिले यी सबै विषयहरु गम्भीर छन् । यस्तो अवस्थामा विवेकी रुपमा अघि बढ्नु नै उपयुक्त हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ माघ ९ गते शुक्रबार