शुभाकर विश्वकर्मा । कोहलपुर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भइसकेको छ । अहिले पार्टीमा आधिकारिताको बहस जोडतोडका साथ चलिरहेको अवस्था छ । सत्ताधारी दल समेत रहेको नेकपामा केन्द्रीय स्तरदेखि स्थानीय स्तरसम्म गुट र उपगुट प्रष्ट रुपमा देखिएका छन् । पार्टी आधिकारिता र चुनाव चिन्हको अन्तिम छिनोफानो नभइसकेको अवस्थामा जिल्ला स्तरमा भने एउटै पार्टीका समानान्तर कमिटीको अभ्यास सुरु भएको छ । बाँकेमा समेत स्पष्ट रुपमा दुई समूह देखा परेका थिए ।
यहाँका पालिकाहरुमा समानान्तर कमिटीको अभ्यास सुरु भएको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन अनुमोदन गरेपछि नेकपा राजनीतिक रुपमा विभाजन भइसकेको छ । देशभर एक गुटको नेतृत्व प्रधानमन्त्री ओलीले गरिरहेका छन् । भने अर्को गुटको नेतृत्वको अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरिरहेका छन् । बाँकेमा भने जिल्ला अध्यक्ष इन्द्रप्रसाद खरेल ‘आइपी’ र सचिव अशोक कोइराला प्रचण्ड–नेपाल समूहको पक्षमा देखिएका छन् । लुम्बिनी प्रदेशको सांसद समेत रहेका खरेल माओवादी पृष्ठभूमिका हुन् भने सचिव कोइराला तल्कालिन एमाले हुन् ।
नेकपा अघि अध्यक्ष तथा सांसद खरेल गृहमन्त्री रामबहादुर थापा पक्षमा थिए । कोइराला भने माधव नेपाल पक्षका नेता हुन् । पार्टी फुटपछि गृहमन्त्री थापा ओली पक्षमा गएपछि खरेल भने प्रचण्ड– नेपाल पक्षमा देखिए । कोइराला पनि प्रचण्ड– नेपाल एकैठाउँमा उभिएपछि उक्त समूह मै खुलेका हुन् । बाँकेमा केहीदिन पहिले दुवै पक्षले आफ्नो पक्षको भेला राखेका थिए । १२ गते नेकपा कम्युनिष्ट पार्टी नेकपाको ब्यानरमा प्रचण्ड–नेपाल समूहले जिल्ला स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको थियो । उक्त भेलालाई सम्बोधन गर्न नेता योगेश भट्टराई नेपालगन्ज आएका थिए ।
त्यसको दुईदिन पछि १४ गते ओलीका विस्वास पात्रका रुपमा परिचित नेता महेश बस्नेतले ओली निकट यूवाहरुले कोहलपुरमा आयोजना गरेको भेलामा सहभागी जनाए । अहिले भने बाँकेमा नेकपा विवादको क्रम समानान्तर पार्टी कमिटी गठनसम्म आइपुगेको छ । यसैबीच, ओली पक्षले कोहलपुरको नगर कमिटीको नेतृत्व चयन गरेको छ । बुधबार खजुरामा बसेको ओली पक्षको भेलाले नगर अध्यक्ष र सचिव परिवर्तन गरेर आफ्नो पक्षका नेतालाई राखेको हो । यस अघि कोहलपुरमा नेकपाको नगर अध्यक्ष बसन्ती अधिकारी थिइन् भने सचिव तुलाराम विष्ट थिए । अधिकारी एमाले पृष्ठभूमिकी हुन भने विष्ट माओवादी पृष्ठभूमिका हुन् । उनीहरु दुवै जना प्रचण्ड –नेपाल पक्षमा उभिएका छन् ।
ओली पक्षले भने आफूहरु नै संस्थापन पक्ष रहेको दाबी सहित खिलप्रसाद भूसाललाई अध्यक्ष र रेशम खत्रीलाई सचिव बनाएको छ । अहिले ओली पक्षको कोहलपुर नगर अध्यक्ष बनाइएका भूसाल तत्कालिन एमालेका नगर अध्यक्ष हुन् भने खत्री सचिव हुन् । खत्री कोहलपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समेत हुन् । नेकपा विवादको आधिकारिता बहस भइरहेका बेला ओली पक्षको अध्यक्ष भनेका भूसाल नेकपाको प्रथम अध्यक्ष ओली रहेको र आफूहरु नै संस्थापन÷ मुल नेकपा रहेको दाबी गर्दै आफू अध्यक्षमा चयन भएको
बताउँछन् । उनलाई ओली पक्षको अनौपचारिक बैठकले अध्यक्ष बनाएको हो ।
जिल्लामा अहिले ओली पक्षको नेतृत्वमा संविधानसभा सदस्य देवराज भार देखिएका छन् । मिसन टुडे दैनिकसँगको कुराकानीको क्रममा भूसालले नेकपाको कोहलपुर नगर किमिटीमा अध्यक्ष र सचिव हेरफेर भएको बताए । अहिले कोहलपुर नगर कमिटी ८१ सदस्यीय छ । ८१ जना मध्ये ७९ जना आफूहरुको पक्षमा रहेको भूसालको जिकिर छ । ‘अहिले कोहलपुरमा हामीलाई जिम्मा दिइएको हो । अन्य पालिकामा समेत नेतृत्व परिवर्तनको तयारी भइरहेको छ । यहि २२ गते जिल्लाको कमिटी परिवर्तन हुन्छ । मुल नेकपा हामी हो ।
आधिकारिक पनि हो । सूर्य चुनाव चिन्ह पनि हाम्रै हो ।’ यता नेकपा कोहलपुर नगर कमिटी अध्यक्ष बसन्ती अधिकारी उनीहरु आधिकारिक नभएको बताउँछिन् । उनी भन्छिन्, ‘उहाँहरुले आफूहरुलाई आफै घोषणा गर्नु भएको हो । त्यो कमिटी आधिकारिक होइन । उहाँहरु बैधानिक पनि होइन ।’ अहिले पनि आफू नेकपा कोहलपुरको अध्यक्ष नै रहेको उनले बताइन् । नेकपा बाँकेका अध्यक्ष खरेल पनि उनीहरु आधिकारिक नभएको नै बताउँछन् । उक्त निर्णयलाई उनले गुटको संज्ञा दिए ।
‘त्यो गुटको निर्णय हो । पार्टीको निर्णय होइन । पार्टीले अहिलेसम्म कोहलपुरको कुनै पनि नेतत्व परिवर्तन गरेको छैन ।’ पार्टी बैधानिकताको बहस चलिरहेका बेला जिल्ला कमिटीको निर्णय बिना कार्य गर्नेलाई कारबाही हुन्छ की हँुदैन भन्ने प्रश्नमा अध्यक्ष खरेलले भने, ‘पार्टीमा विवाद छ, सबैलाई थाहै छ । कार्यकर्ता पक्ष र विपक्षमा पनि देखिएका छन् । पार्टीको सम्पूर्ण संगठनमा हाम्रो बहुमत छ । उहाँहरु नैतिक धरातलमा बस्नु प¥थ्यो ।’









प्रतिक्रिया दिनुहोस्