कर्णाली र सुदुरपश्चिमका जिल्ला हेर्नेगरी कोहलपुरमा पहिलोपटक जल तथा मौषम विज्ञान कार्यालय स्थापना भएको हो । सरकारले सुर्खेतमा रहेको हावापानी कार्यालय र नेपालगन्जमा रहेको जल तथा मौषम विज्ञान कार्यालयलाई मर्च गराई कोहलपुरमा क्षेत्रीय कार्यालय गर्ने निर्णय गरेको थियो । सोही अनुसार कार्तिक १ गतेबाट कोहलपुर– २ लोकनगरमा रहेको आधुनिक आफ्नै भवनबाट जल तथा मौषम विज्ञानले सेवा प्रवाह सुरु गरेको छ ।
कोहलपुर ।
बाँकेको कोहलपुरमा जल तथा मौषम विज्ञान कार्यालय सञ्चालनमा आएको हो । मन्त्रीपरिषद्को निर्णय अनुसार नै कोहलपुरमा पहिलोपटक जल तथा मौषम विज्ञान कार्यालय सञ्चालनमा आएको हो । गत कार्तिक १ गतेदेखि नै कार्यालयले आफ्नो काम सुरु गरेको जल तथा मौषम विज्ञान कार्यालयका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
पहिले सुर्खेतको वीरेन्द्रनगरमा रहेको जल तथा मौषम विज्ञान कार्यालय कोहलपुरमा सरेर काम सुरु गरेको उनले बताए । संघियताका कारण यहाँ रहेका सरकारी कार्यालयहरु अन्य जिल्लामा सरेपनि मौषम सम्बन्धी जानकारी दिने जल तथा मौषम विज्ञान कार्यालय कोहलपुरमा स्थापना भएको हो । ‘मन्त्रालयको परिपत्र अनुसार कार्तिक एक गतेदेखि नै कोहलपुरबाट कामकाज सुरु भइसकेको छ’ कार्यालय प्रमुख पराजुलीले भने, ‘दुई महिना कार्यालय व्यवस्थापन गर्नमा नै खर्च भयो ।’
कोहलपुरमा स्थापना भएको जल तथा मौषम विज्ञानको क्षेत्रीय कार्यालय हो । यो कार्यालयले कर्णाली तथा सुदुरपश्चिम प्रदेशको मौषम स्थितीबारे पूर्व सूचना तथा ताजा जानकारी दिनेछ । कोहलपुरमा रहेको कार्यालयले कर्णाली र सुदुरपश्चिम प्रदेशमा रहेका ७ वटा मौषम सम्बन्धी फिल्ड कार्यालयहरुलाई हेर्ने जिम्मेवारी समेत तोकिएको कार्यालय प्रमुख पराजुलीले जानकारी दिए । कोहलपुर नगरपालिका–२ लोकनगरमा ५ कट्ठा क्षेत्रफलमा कार्यालयको आधुनिक भवन बनेको छ ।
‘कोहलपुरमा कार्यालय भवन बन्न केही ढिलाई भएपछि यता सर्न ढिलो भएको हो’ उनले भने, ‘आफ्नै कार्यालय भवन बनिसकेपछि मात्र सुर्खेतबाट यता कार्तिक एक गतेदेखि सरिसकेका छौं ।’ जल तथा मौषम विज्ञानको क्षेत्रीय कार्यालय कोहलपुरमा १९ जना कर्मचारीको दरबन्दी रहेपनि अहिले ११ जना कर्मचारीहरु कार्यरत रहेका छन् । पहिले कर्णाली र सुदुरपश्चिम प्रदेशको जल तथा मौषम सम्बन्धी सुर्खेतबाट पाइने जानकारी अब कोहलपुरको कार्यालयबाट पाइने पराजुलीले जानकारी दिए ।
‘यहाँ स्थापना भएको जल तथा मौषमको क्षेत्रीय कार्यालय हो’ उनले अगाडि भने, ‘पहिले सुर्खेतबाट पाइने जानकारी अब कोहलपुरबाट दिनेछौं ।’ २०७५ मंसिरमा बसेको मन्त्रीपरिषद् बैठकले सुर्खेतमा रहेको जल तथा मौषम विज्ञानको कार्यालयलाई कोहलपुरमा सार्ने निर्णय गरेको थियो । २०७६ साउनदेखि नै कार्यालयलाई कोहलपुरमा सार्ने मन्त्रीपरिषद्ले निर्णय गरेपनि २०७७ कार्तिक १ गतेबाट मात्र कार्यालय स्थापना भएको हो । सुर्खेतमा रहेको हावापानी कार्यालय र नेपालगन्जमा रहेको जल तथा मौषम विज्ञान कार्यालयलाई मर्च गराई कोहलपुरमा कार्यालय स्थापना गरिएको कार्यालयका सूचना अधिकारी रामबाबु मिश्रले जानकारी दिए ।
‘यसअघि सुर्खेत र नेपालगन्जमा रहेका कार्यालयहरु मर्च गरेर कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गर्ने सरकारले निर्णय गरेको थियो’ उनले भने, ‘सोही निर्णय अनुसार नै कोहलपुरमा जल तथा मौषम विज्ञानको क्षेत्रीय कार्यालय स्थापना भएको हो ।’ सुर्खेतबाट कार्यालय सरेपछि सुर्खेतबाट सेवा प्रवाह बन्द भएको सूचना अधिकारी मिश्रले बताए ।
उनका अनुसार सुर्खेतबाट जल तथा मौषम विज्ञान कार्यालय सरेपनि राडर मेसिनको छुट्टै फिल्ड कार्यालय स्थापना हुनेछ । मौषम पूर्वानुमान गर्न नेपालकै पहिलो राडर मेसिन दैलेख र सुर्खेतको सिमााना रातानाग्लामा स्थापना गरिएको छ । राडर मेसिनको लागि छुट्टै फिल्ड कार्यालय पुरानो भवनमा स्थापना गरिने जल तथा मौषम विज्ञानको क्षेत्रीय कार्यालय कोहलपुरले जनाएको छ । त्यसका लागि कर्मचारीको दरबन्दी स्वीकृत हुने प्रक्रियामा रहेको क्षेत्रीय कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्