ओलीले व्यवस्था माथि उद्दारी गरे : इन्द्रप्रसाद खरेल (आइपी) अध्यक्ष नेकपा बाँके



प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिसकेकी छिन् । आइतबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले संसद विघटनको सिफारिस गरेको थियो । एक्कासी प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेपालको राजनीति अरिस्थरता तर्फ धकेलिएको छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरुको संवैधानिक थलो प्रतिनिधि सभा भंग भएको छ । विघटनपछि सदस्यहरु पदमुक्त भएका छन् । तर कतिपयले संसद पुर्नस्थापित हुने समेत अपेक्षा गरेका छन् । सर्वोच्चको निर्णय नआइसकेकोले यसै भन्न सकिने अवस्था पनि छैन । यसैविषयमा हामीले बाँकेस्थित राजनीतिक दलका प्रमुखहरुसँग संसद विघटनका बारेमा तपाईहरुको धारणा के छ भनेर सोधेका छौं । प्रस्तुत छ उनीहरुको धारणा ।

इन्द्रप्रसाद खरेल (आइपी) अध्यक्ष नेकपा बाँके

यो पुरै असंवैधानिक कदम हो । कुनै पनि आधार विनाको कार्य हो । यसको लागि कसैलाई पनि संविधानले अधिकार दिएको छैन । केपी ओलीको बदमासपूर्ण व्यवहारको उपज हो । प्रधानमन्त्रीले जे गरे असाध्यै गलत कार्य गरे । उनले इतिहासमा आफ्नो निधारमा कालो धब्बा लगाए । अब केपी ओलीलाई कारबाही हुन्छ । उनलाई पार्टी फुटाउनु थियो । यो पार्टी फुटेको अनौपचारिक घोषणा समेत हो । यसलाई पार्टी फुट कै रुपमा हामीले हेरेका छांै । अब जनताले जनमत मार्फत केपी ओलीको कालो युगको अन्त्य गरिदिन्छन् ।

पार्टी समेत उनलाई कारबाही हुन्छ । पार्टीले कारबाही गर्छ । उनलाई पूर्व एमालेले साथ दिदैनन् । उनी मात्रै होइन हिजो राजतन्त्र हटाउन सडकमा आन्दोलन गरेका कुनै पनि पार्टीले उनलाई साथ दिदैनन् । अहिलेको नेकपाको आन्तरिक विरोध त पूर्व एमाले कै साथीहरुले गर्नु भएको छ । उनले आफ्नो इतिहास पनि सिध्याए । कम्युनिष्ट आन्दोलनमा समेत उनले कालो धब्बा लगाए । हिजो केशरजंग रायमाझीले समेत आन्दोलन माथि यति ठूलो कुठाराघात गरेका थिएनन् । जुन आज केपी ओलीले गरे । काँग्रेसले समेत यस कदमको विरोध गर्छ । सरकारको पछिल्लो कदमको विरोध त देशभर हुन्छ नै । बाँकेमा समेत यसको विरुद्धमा गतिविधिहरु हुन्छन् । जनवर्गीय संगठनहरुले विरोधका कार्यक्रम गर्दछन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ६ गते सोमबार