कुपन प्रणालीबाट धान खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले सुरु गरेको छ । किसानलाई सहज तुल्याउन कुपन वितरण गरी सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले मंसिर ७ गतेबाट धान खरिद गर्न सुरू गरेको हो ।
कुपन अनुसार आफ्नो पालो परेको दिन प्रतिकुपन ५० क्विन्टलसम्म धान विक्री गर्न पाउने व्यवस्था गरिएको कम्पनीका मुख्य शाखा प्रमुख निर्मल थापाले जानकारी दिए ।
उनका अनुसार सोही व्यवस्थाका कारण किसान दैनिक रूपमा आफ्नो कुपन अनुसार धान लिएर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयसम्म पुग्ने गरेका छन् ।
कम्पनीका मुख्य शाखा प्रमुख थापाले किसानलाई वितरण गरिएको कुपनमा कृषकको विवरणसहित धानको अनुमानित परिमाण र धान लिएर आउने दिन तोकिएकोले किसानलाई सहज भएको दाबी गरे ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय नेपालगन्जले कुपन प्रणालीबाट धान खरिद गर्ने व्यवस्था गरेपछि किसानहरूले सजिलै धान विक्री गर्न पाएका छन् ।
‘कुपन प्रणाली लागू गर्दा धान लिएर विक्रीका लागि लाइन लाग्नुपर्ने स्थितिको समेत अन्त्य भएको छ’ कम्पनीका मुख्य शाखा प्रमुख थापाले भने, ‘कुपन प्रणालीबाट धान खरिद भएपछि किसानहरुलाई समेत सहज भएको छ ।’ कुपन प्रणालीबाट धान खरिद भएपछि सहज भएको बाँके नरैनापुरका कृषक रामनरेश यादवले बताए ।
‘कुपन प्रणालीबाट पालो कुर्दा हामीलाई केही सहज भएको छ’ उनले भने, ‘नत्र गल्ला (धान) ल्याएर कार्यालय अगाडि चार पाँच दिन पालोको लागि बस्नुपथ्र्यो ।’
कुपन प्रणाली लागू गरेपछि कुपन वितरणमा भने भीड लाग्ने गरेको छ । कुपन लिनका लागि किसानले लालपुर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको कम्पनीका मुख्य शाखा प्रमुख थापाले जानकारी दिए ।
यसबाट अधियाँ बटियामा खेती गर्ने किसानले कुपन पाउन सकेका छैनन् । त्यसैले विचौलियाहरूले चलखेल गरिरहेको गुनासो पनि किसानहरूले गरेका छन् ।
धान विक्री गर्न पुगेका किसान सिराज अहमदले ५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्ने भएकाले समस्या भएको बताए । ‘५० क्विन्टल धान विक्री गर्न २५ कठ्ठा जग्गाको लालपुर्जा देखाउनुपर्छ’ उनले भने, ‘यसले खासगरी श्रम गर्ने किसाहरुलाई समस्यामा पारेको छ ।’
अर्का बाँके राप्तीसोनारीका किसान गोविन्द थारुले पनि धान विक्री गर्दा जग्गाको लालपुर्जा देखाउनुपर्ने नियमका कारण समस्या भएको बताए । ‘बाँकेमा अधिकांशहरुले अधियाँ बटिया गरेर धान उत्पादन गरेर विक्री गर्दछन्’ उनले भने, ‘जग्गा नै नभएकाहरुले कसरी लालपुर्जा देखाउन सक्छन् ।’
यसले गर्दा किसानहरुको नाममा फेरी पनि विचौलियाहरु नै हाबी भएको कृषकहरुले बताएका छन् । उनीहरु लालपुर्जा विना नै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जले धान खरिद गर्नुपर्ने बताउँछन् ।
कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष पहिलो चरणमा ४० हजार क्विन्टल मोटा र मध्यम धान खरिद गर्ने लक्ष्य राखेको छ । सरकारले मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।
यसैबीच धान खेतीको उर्वर भूमि मानिने बाँके बर्दियामा यसवर्ष धान उत्पादनमा वृद्धि भएसँगै विक्री गर्ने किसानहरुको संख्या पनि बढी रहेको छ । गतवर्षभन्दा बाँकेमा २६.५ र बर्दियामा ७.३८ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।
बाँकेमा यसवर्ष ३६ हजार ५ सय हेक्टर जमिनमा धान रोपाई भएको थियो । प्रति हेक्टर ४.३ मेट्रिक टनका दरले १ लाख ५६ हजार ९ सय ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए । यो उत्पादन गतवर्षको भन्दा २६.५ प्रतिशतले बढी हो ।
गतवर्ष १ लाख २४ हजार १ सय मेट्रिक टन मात्र धान उत्पादन भएको थियो । त्यसभन्दा अघि १ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ । त्यतीबेलाको तुलनामा अहिले ७.५ प्रतिशतले मात्र वृद्धि भएको कार्यालय प्रमुख ढकालले जानकारी दिए ।
धान खेतीको उर्वर भूमि मानिने बर्दियामा जिल्लामा पनि यसवर्ष धान उत्पादन ७.३८ प्रतिशतले वृद्धि भएको छ । यसवर्ष जिल्लामा अधिक मात्रामा धान उत्पादन भएको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए । ‘नसोँचेको मात्रामा धान उत्पादन भएको छ । रसायनिक मलको अभावका बीच यति धेरै परिमाणमा धान उत्पादन हुनु खुशीको कुरा हो’, उनले भने, ‘अघिल्ला वर्षहरूको तुलनामा ७ दशमलव ३८ प्रतिशत धान उत्पादन वृद्धि भएको छ ।’
बर्दियामा गतवर्ष ५० हजार ९ सय हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीमा ४ दशमलव २ प्रतिशत उत्पादकत्वका दरले २ लाख १४ हजार ६२५ मेट्रिक टन धान उत्पादन भएको थियो । यसवर्ष ५० हजार २५० हेक्टर क्षेत्रफलमा ४ दशमलव ५ प्रतिशत उत्पादकत्वका दरले २ लाख २६ हजार ६२८ मेट्रिक टन धान उत्पादन भएको छ ।










प्रतिक्रिया दिनुहोस्