– लेखराम सापकोटा
खाली कागज जलेर खरानी बन्छ
केही लेखे त्यो कसैको सिरानी बन्छ
जित्नलाई भोटहरु किनबेच हुन्छन्
त्यो इतिहास होइन कहानी बन्छ
समयलाई जित्ने कोशिस व्यर्थ हुनेछ
मस्त निदाउ या जाग भोलि बिहानी बन्छ
दुनिया जहिलेसम्म कानुन मान्दैन
त्यो बन्दुक भाँच्छ अनि मनोमानी बन्छ
बाँचुञ्जेल सबलाई हाहाकार छ
जब धर्ती छाड्छ मान्छे ज्ञानी बन्छ
– गैडाकोट–७, नवलपरासी
……………………………….
– नन्दा आचार्य
उसले आउँछ, भनेर गएको थियो
यो देश बनाउँछु, भनेर गएको थियो
हरेक गाउँ बस्ती बस्तीमा
परिवर्तन ल्याउँछु, भनेर गएको थियो
सहारा अनि घरबार बिहीनको
खुशी फर्काउँछु, भनेर गएको थियो
कर्मठ हात परिवर्तनशील विचारहरु
भएकालाई सघाउँछु, भनेर गएको थियो
प्रकाशित मिति : २०७३ जेठ ३० गते आइतबार









प्रतिक्रिया दिनुहोस्