कुटीको जग्गा पुजारीको नाममा



शिवु खनाल । दाङ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको दाङको गढवा गाउँपालिका–४ जंगलकुटीको नाममा हुनुपर्ने जग्गा त्यहाँका पुजारीको नाममा भएको पाइएको
छ । पुजारीको नाममा कुटीको जग्गा भएपछि अब भने जंगलकुटी सम्पत्ति बिनाको कुटी बनेको हो । गढवा गाउँपालिका वडा नम्बर ३ मा कुटी छ भने वडा नम्बर ४ को पर्सेनीमा जग्गा ।

झन्डै दुईसय वर्ष पुरानो इतिहास रहेको उक्त कुटी संस्थागत नभएपछि व्यक्तिको नाममा रजिस्टे«सन गर्नुपर्ने भएकाले तत्कालिन पुजारी मोहनलाल चौधरीको नाममा पास गरिएको हो । मन्दिरमा पुजारीको पुस्तान्तरणसँगै जग्गाको स्वामित्व पुजारीको नाममा हस्तान्तरण हुँदै आएको थियो । पुजारी मोहनलालका चारभाइ छोराहरु मध्ये उनले मन्दिरको पुजारी सुप्पदै कान्छाछोरा देविसिंह चौधरीको नाममा जग्गा पास गरिदिएको भेटिएको छ ।

उक्त जग्गाको मालपोत मन्दिरबाट उठेको भेटी र पुजारीलाई प्राप्त भएको दान दक्षिणाबाट तिर्ने गरेको पाइन्छ । अहिले कार्यरत पुजारी देविसिंह चौधरीले आफुले मन्दिरको भेटी दान दक्षिणाबाट प्राप्त भएको पैसाबाट मालपोत तिरेको बताए । आफू मन्दिरको पुजारी भएको र बुवाको सेवा अन्य छोराहरुले नगरेका कारण आफ्ना दाइहरुलाई बुवाले अंशबण्डा नगरी दिएको उनले दाबी गरे । देविसिंहले जग्गाको मोही कट्टी गरी बचेको १६ बिगाहा जग्गा आफ्ना चारभाइ छोरालाई अंशबण्डा गरिदिएको तथ्य फेला परेको हो ।

मन्दिरको पुजारीबाट पुजारी मै पुस्तान्तरण हुँदै आएको जग्गाको अंशबण्डा २०५२ सालमा भएको थियो । सबैजसो जग्गा कुटीकै सम्झेर स्थानीय किसानले अधियाँ लगाउँदै आएका थिए । जग्गा धनी भनिएका पुजारीका सन्तानले अधियाँ बापत पाउनुपर्ने अन्नपात नपाएपछि जब जग्गा ठेक्कामा दिए । तब मात्रै कुटीको नाममै जग्गा नभएको तथ्य बाहिर आएको जनप्रतिनिधि बताउँछन् । गढवा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष गुलाम मोहम्मदले उक्त जग्गा कानुनी जटिलताका कारण पुजारीको नाममा भएपनि व्यवहारिक रुपमा कुटीकै सम्पत्ति भएको बताउँछन् ।

उनले भने, ‘बिक्रि समेत गर्ने सुरासर भएको छ, मसँग वडामा चार किल्लाको सिफारिस माग्न आइरहेका छन् । कुटी नाङ्गै बनाएर सिफारिस दिने पक्षमा छैनौं ।’ यस विषयमा सिद्ध बाघनाथ बाबा जंगलकुटी संरक्षण समितिले कुटीको नाममै जग्गा नहुँदा कानुनी जटिलता आएको भन्दै पन्छिन खोजेको छ । समितिका अध्यक्ष आशाराम चौधरीले पुजारीको नाममा रहेको जग्गा छोराहरुलाई पास गरेको अझैपनि पुजारीको नाममा रहेको चार विगाहा जग्गा संस्थाको नाममा ल्याउने पहल भइरहेको जानकारी दिए ।

ऐतिहासिक गतिविधिका जानकार संस्कृति प्रेमी उदयराज आलेले पुजारीको पनि उक्त जग्गामा योगदान भएकोले मोहियानी जस्तै गरी केही जग्गा पुजारीलाई दिएर बाँकी जग्गा संस्थाको नाममा ल्याउनुपर्ने बताए । उनी भन्छन्, ‘जंगलकुटी दर्ता नभएको कारण पुजारीको नाममा गराएको र पुजारी बाट पुजारीमा पुस्तान्तरण भइरहेको छ ।’ अहिले पुजारीले छोराहरुमा अंशबण्डा गर्दा समस्या आएको भन्दै उनले यसो गर्नु उचित नभएको बताए ।

चलखेल ठूलो भयोः सांसद

लुम्बिनी प्रदेश सांसद इन्द्रजित थारुले उक्त जग्गामा ठूलो चलखेल भएको बताएका छन् । ‘कुटीको नाममा भनिएको जग्गा किसानले जोत्दै आएपनि उनीहरुले खरिद गर्न नसकेपछि ठेक्का दिने र बिक्रि गर्न सिफारिस माग्ने समेत काम भएको पाइन्छ’ उनले भने । सांसद थारुले जंगलकुटीको नाममा जग्गा नभएपनि १६ बिगाहा मध्ये केही जग्गा कुटीको नाममा हुनुपर्ने धारणा राखे ।

यस्तै पूर्वसंसाद योगेन्द्र चौधरीले जंगलकुटीको नाममा जग्गा नहुने र पुजारी मोटाउने प्रबृति राम्रो नभएको बताए । उनले भने, ‘हामीलाई थाहा छ, सानो छँदा कुटीको जग्गा भन्दै हामी रोपाइँ गर्न जाने गर्दथ्यांै, अहिले आउँदा पुजारीको नाममा अनि ठेक्का बिक्रि गर्ने तयारी सुन्दा चिन्ता लाग्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २३ गते आइतबार