बाँके लगायतका तराईका जिल्लाहरुमा तिहार नजिकिदैं जाँदा पटाकाहरु भित्रिन थालेका छन् । कोरोना कहरका कारण नेपाल भारत सीमाका मुख्य नाका बन्द भएपछि चोरी नाकाबाट पटाकाहरु भित्रिन थालेका हुन् ।
खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट पटाकाहरु निर्वाध रुपमा नेपालतर्फ भित्रिरहेका छन् । सोही क्रममा भारतबाट नेपालगञ्जतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले ठूलो मात्रामा पटाका बरामद गरेको छ ।
तिहार र छठ पर्वलाई लक्षित गरेर ल्याउँदै गरेको ठूलो परिमाणको पटाका बाँके प्रहरी सीमा क्षेत्रबाट बरामद गरेको हो । बरामद पटालाई बाँके प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
भारतको रुपैडिहाबाट जमुनाहा गाउँ हुँदै ल्याउँदै गरेको अवस्थामा ९ पेटी पटाका बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । बरामद पटाको बजार मुख्य अन्दाजी ५ लाख बढी रहेको उनले दाबी गरे ।
‘मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा पटाका बरामद भएको हो’ प्रहरी उपरीक्षक रानाले भने, ‘प्रहरी देख्नेवित्तिकै तस्करहरु पटाका छोडेर भारततर्फ नै भागे ।
तिहार नजिकिदै जाँदा बाँकेमा समेत पटाकाहरु भित्रिन थालेसँगै प्रहरीले सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मुख्य नाकाबाट पटाका भित्र्याउन सम्भव नभएपनि खुल्ला सीमा क्षेत्रबाट तस्करहरुले नेपालतर्फ पटाका भित्र्याउने गरेका छन् । प्रहरी उपरीक्षक रानाले सीमा नाका सुरक्षा सर्तकता अपनाइएको बताए ।
‘तिहार नजिकिएसँगै पटाका भित्रिन थालेका छन्’ उनले भने, ‘हामीले पटाका भित्र्याउन नपाउन भनेर सर्तकता अपनाएका छौं ।’










प्रतिक्रिया दिनुहोस्