मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पक्षका मन्त्रीहरूलाई हतारिएर राजीनामा नदिन निर्देशन दिएको बुझिएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् । उनले शनिबारै केही मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले माथिबाट दबाब आएकाले ओली पक्षका मन्त्रीहरूलाई हट्न आग्रह गरेका थिए ।
“मलाई माथिबाट दबाब आयो । अहिले तपाईंहरू बिदा हुनुपर्छ कि भन्ने आशय व्यक्त गर्नुभयो,” प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले भने । उनले आफूले राजीनामा नदिने बताए । कसरी अगाडि बढाउने भन्ने मुख्यमन्त्रीकै हातमा रहेको पनि जानकारी दिए ।
“मुख्यमन्त्रीलाई थाहा होला, उहाँले कसरी लैजानुहुन्छ, के गर्नुहुन्छ,” उनले भने, “मैले हिजो मुख्यमन्त्रीसँग भएको कुराकानीलाई लिएर बिदा नै हुनुपर्ने होला भन्ने लागेर फेसबुकमा लेखेको हुँ ।”
“व्यक्ति गौण कुरा हो फेरिइरहन्छन् । पार्टीकै कुरा हो,” उनले भने, “मुख्यमन्त्रीको कदमले कर्णाली प्रदेश र सिङ्गो पार्टीलाई नै तलमाथि पार्ने हो कि भन्ने चिन्ता हो ।”
उनले केन्द्रबाट कसैले पनि राजीनामा दिन नभनेको पनि बताए । केही नबिगारको अवस्थामा राजीनामा दिनुनपर्ने नेताहरूले बताएको रावलको भनाइ थियो । “केही बिगार्नुभएको छैन । राजीनामा किन दिने भन्ने नै कुरा छ,” उनले भने ।










प्रतिक्रिया दिनुहोस्