कोहलपुर ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सरकारी कार्यालयहरुलाई आफ्ना सवारी साधनको दुरुपयोग रोक्न कडा निर्देशन दिएको छ । दशैं तिहारमा सरकारी सवारी साधनको दुरुपयोग बढ्नसक्ने प्रशासनले यस्तो निर्देशन दिएको हो ।
आइतबार एक सूचना जारी गरेर प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयहरुलाई जथाभावी सरकारी गाडीको प्रयोग नगर्न निर्देशन दिएको थियो ।
दशैं तिहार लगायतका चाडपर्वका बेला जथाभावी रुपमा सरकारी गाडीको प्रयोग गरे कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जारी गरेको सूचनामा चाडपर्वका बेला कार्यालय प्रमुखले जिल्ला छोड्नु पर्ने अवस्थामा अनिवार्य रुपमा जिल्ला प्रशासनको अनुमति लिन आग्रह गरिएको छ ।

‘नजिकिदैं गरेको नेपालीहरुको महान् पर्वहरु बडा दशैं, तिहार, छठ लगायतमा शान्ति सुरक्षा, स्वास्थ्य सेवा लगायत विभिन्न कार्यालयबाट प्रदान हुँदै आएका अत्यावश्यक सेवाहरु सुनिश्चिता गर्नुपर्ने भएकोले सोको प्रबन्ध गर्न हुन कार्यालय कामकाज भन्दा बाहेक सरकारी सवारी साधनको प्रयोग नगर्न हुन अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ।
खासगरी दशैं तिहार जस्ता चाडपर्व र बिदामा दिनहरुमा सरकारी सवारी साधनको दुरुपयोग हुने गर्दछ । सोही कुरालाई मध्यनजर गरेर बाँके प्रशासनले सबै सरकारी कार्यालयहरुलाई सवारी साधनको दुरुपयोग नगर्न निर्देशन दिएको हो ।
दशैं मनाउन घर जाने बेलामा कार्यालय प्रमुखहरुले सवारी साधन आफैसँग लिएर घर जाने गर्दछन् । सोही कुरालाई रोक्नको लागि निर्देशन नै दिनुपरेको बाँके प्रशासनले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्