जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वलाई लक्षित गरेर ‘डग स्न्यापिङ’ अभियानको सुरुवात गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत आइतबारबाट ‘डग स्न्यापिङ’ अभियान सुरु गरिएको हो ।
नेपाल भारत जमुनाहा नाकाबाट नेपाल भित्रीने यात्रुहरु र उनीहरुको ल्याएका सामानलाई तालिम प्राप्त कुकुरद्वारा सुँघाएर चेकजाँच गरेर अभियानको सुरुवात गरिएको थियो ।
अवैध हातहतियार, विष्फोटक पदार्थ तथा लागू औषधहरुलाई लक्षित गरी सम्भावित अपराधलाई हुन नदिन तालिम प्राप्त कुकुरको सहयोग लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
‘सीमा नाकामा मात्र नभएर जिल्ला भित्र पर्ने राजमार्ग, बसपार्क तथा आवश्यक देखिएका स्थानहरुमा आकस्मिक रुपमा कुकुरको परिचालन गरिनेछ’ उनले भने, ‘यो अभियानमा तालिमप्राप्त दुई कुकुरको प्रयोग गरिन्छ ।’
आइतबार सीमा नाका जमुनाह, भन्सार कार्यालयमा रहेको होल्डिङ्ग सेन्टर तथा धम्बोझी चोकमा यात्रुहरुको सामान तथा सवारी साधनमा कुकुरद्वारा सुघाएर चेकजाँच गरिएको थियो ।
चेकजाँचमा नेपाल प्रहरीका ‘लव’ र ‘एलेक्स’ नामक दुई वटा कुकुरहरु खटिएको बाँके प्रहरीले जनाएको छ । बाँकेमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
‘चाडपर्वहरु नजिकिएसँगै सुरक्षालाई समेत बलियो बनाएका छौं’ उनले भने, ‘यसको लागि जिल्लाभर ६ सय ५० बढी परिचालित छन् ।’










प्रतिक्रिया दिनुहोस्