कन्या स्कुलका छात्रालाई साईकल



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा रहेको कन्या माध्यामिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निःशुल्क साईकल वितरण गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत् कन्या विद्यालयमा अध्ययनरत विपन्न छात्राहरुलाई नेपालगञ्ज उप–महानगरपालिकाले निःशुल्क रुपमा एक÷एक थान साईकल उपलब्ध गराएको थियो ।

मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षाविद् किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गरेका थिए । उक्त अवसरमा बोल्दै नगर प्रमुख राणाले कन्या विद्यालयले छोटो समयमा नै फड्को मारेको भन्दै छात्राहरुको संख्या बढिरहेकोमा खुशी व्यक्त गरे । ‘हामीले छात्रा विद्यालय स्थापना गरेको छोटो समयमा नै सोचे अनुरुप नै उपलब्धी हासिल गरेका छौं’ उनले भने, ‘अब नेपालगञ्जमा नै छात्रा कलेज सञ्चालनको तयारी भइरहेको छ ।’

कन्या विद्यालय पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको हो । गरिब तथा विपन्न समुदायका अधिकांश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन् । छात्राहरुले साईकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको नगर उपप्रमुख थापा मगरले बताइन् । ‘साईकल पाएपछि विद्यालयदेखि टाढाका छात्राहरुलाई आवतजावत गर्न सजिलो हुन्छ’ उनले भनिन्, ‘आगामी दिनहरुमा समेत अन्य छात्राहरुलाई साईकल वितरण गर्ने हाम्रो लक्ष्य रहेको छ ।’

यसअघि समेत नेपालगञ्ज उप–महानगरपालिकाले १६८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो । माध्यामिक तहसम्म कन्या विद्यालय सञ्चालन गरिरहेको नेपालगञ्ज उप–महानगरपालिकाले यसै शैक्षिक सत्रदेखि कन्या कलेज समेत सञ्चालन गर्दैछ । त्यसको लागि सम्पूर्ण तयारी पूरा भइरहेको नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २० गते बुधबार