अवैध सामग्री बरामद



नेपालगञ्ज ।

सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न सामग्रीहरु बरामद गरेको छ । नेपाल भारत सीमाको जमुनाहा नाका नजिकैबाट सशस्त्रले भन्सार छली गरेर नेपालगञ्ज भित्र्याउँदै गरेको अवस्थामा सामग्रीहरु बरामद गरेको हो । बिहीबार बोर्डर आउट पोस्ट (बिओपी) जमुनाहा भन्सारबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमलविक्रम रेउलेको नेतृत्वमा गएको टोलीले नेपालगञ्ज वडा नं. १५ टंगपसरी गाउँबाट ९० हजार ४ सय बढीको बिभिन्न सामग्री बरामद गरेको थियो ।

भारतबाट नेपालतर्फ अवैधरुपले ल्याउँदै गरेको अवस्थामा मोटरसाइकलका पार्टस, जुत्ता, पेन्ट, कपडा, खाद्यान्नलगायतको सामान दशगजा नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको टोलीलाई देख्नेवित्तिकै तस्करहरुको समुह प्रहरीलाई देख्नेवित्तिकै भारततर्फ नै भागेका थिए । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको बिओपी जमुनाहाले जनाएको छ । कोरोना महामारीको कारण मुख्य नाका बन्द भएको हुँदा तस्करहरुले खुल्ला सीमानाबाट सामानहरु भित्र्याउने गरेका छन् ।

भन्सार चोरी पैठारी र छली रोक्न सीमा क्षेत्रमा गस्ती बढाइएको बिओपी जमुनाहा भन्सारले जनाएको छ । यसैबीच बाँके प्रहरीले ७ बोरा छोकडा र १३ बोरा केराउ ५ जनालाई पक्राउ गरेको छ । डुडुवा गाउँपालिका १ पिप्रहवा स्थित अबैध रुपमा भन्सार छलि नेपालबाट भारत लैजादै गरेको ७ बोरा (३५० कि.ग्रा.) छोकडा र १३ बोरा केराउ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । बरामद सामग्री र तस्करीमा संग्लन मानिसहरुलाई समेत आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रबार