एकल महिलामैत्री ऐन बनाउन आग्रह



कोहलपुर ।

द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेले सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाउन आग्रह गरेको छ । सञ्जालले नेपालगञ्ज उप–महानगरपालिकालाई बिहीबार सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाउन आग्रह गरेको हो । सामाजिक सुरक्षा भत्ताका लागि एकल महिलालाई अर्को विहे नभएको प्रमाणपत्र मागिएको भन्दै शुक्रबार द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँके नगर प्रमुख डा. धवलशमशेर राणालाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

एक साता अघि मात्र नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ताका लागि एकल महिलालाई अर्को विहे नभएको प्रमाणपत्र ल्याउनुपर्ने भन्दै सूचना जारी गरेको थियो । सोही विषयलाई लिएर उनीहरु त्यसप्रति असन्तुष्टि जनाउँदै नगर प्रमुख राणालाई ज्ञापनपत्र बुझाउन पुगेका हुन् । सञ्जालका संस्थापक अध्यक्ष शोभा विसीले सामाजिक सुरक्षा भत्ताका लागि एकल महिलालाई अर्को विहे नभएको प्रमाणपत्र ल्याउनुपर्ने सूचना सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिइन् ।

‘वडा नम्बर १ ले जारी गरेको सूचनाले एकल महिलालाई झनै पीडित बनाइदिएको छ’ उनले भनिन्, ‘अब स्थानीय सरकारहरुले सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाउनुपर्छ ।’ सञ्जालकी बाँके अध्यक्ष जयन्ती खत्रीले नगर प्रमुख राणालाई सामाजिक सुरक्षा ऐन एकल महिलामैत्री बनाउन आग्रह गरिएको बताइन् ।

‘पछिल्लो समयमा नेपालगञ्जको वडा नम्बर १ ले सामाजिक सुरक्षा भत्ताअन्तरगत विधवा भत्ताका लागि आवेदन दिनु भएका र दिनु हुने सम्पूर्ण एकल महिलाहरुले अर्को विवाह नगरेको प्रमाणित प्रतिलिधि पेश गर्न भनेको छ’ उनले भनिन्, ‘यसले हामीलाई मर्माहित बनाएको मात्रै छैन, आत्मा सम्मानमा चोट पुगेको छ ।’ उनले उप–महानगरपालिकाको सुरक्षा ऐन एकल महिलामैत्री बनाउन नगर प्रमुख राणालाई आग्रह
गरिन् । सो अवसरमा नगर प्रमुख राणाले महिलाहरुको आत्मा सम्मानमा चोट पुग्नेगरी उप–महानगरपालिकाले निर्णय नगर्ने प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रबार