नेपालका सात प्रदेश मध्ये पाँच वटा प्रदेशको नाम र स्थायी राजधानी तोकिएको छ । मंगलबार मतदानको माध्यमबाट तत्कालिन प्रदेश ५ को नाम लुम्बिनी र अस्थायी राजधानी दाङ देउखुरीलाई तोकिएसँगै नाम र राजधानी टुंगो लगाउने प्रदेशको संख्या पाँच पुग्यो । अहिलेसम्म प्रदेश नम्बर १ र २ ले स्थायी राजधानी र प्रदेशको नाम टुंगो लगाउन सकेका छैनन् । त्यहाँ नाम र राजधानीको विवाद समाधान हुन सकेको छैन । लुम्बिनी नामाकरण गरिएको प्रदेशमा पनि स्थायी राजधानी दाङ देउखुरी तथा अन्य विकल्पमा विषयमा विवाद थियो । अन्तत विरोध, विवाद र आलोचनाका बीच स्थायी राजधानी दाङ देउखुरी बहुमतका आधारमा तोकियो । अहिले राजधानी तोकिएको दाङ मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला हो । उनले शुरुदेखि नै दाङलाई राजधानी बनाउनु पर्ने विषयमा लविङ गर्दै आएका थिए । अन्तत उनी नेकपा अध्यक्षद्धयलाई मनाउन सफल भए र राजधानी आफ्नो पोल्टामा पारे ।
दाङ देउखुखरी राजधानीको पक्षमा नेकपा महासचिवदेखि प्रतिपक्ष काँग्रेसका नेता समेत सहमत छैनन् । काँग्रेसका साविक लुम्बिनी क्षेत्रका नेताहरुले बुटवल नै राजधानी बनाउनु पर्ने पक्षमा थिए । तर त्यो सम्भव हुन सकेन । लोकतान्त्रिक प्रक्रियाबाट राजधानी र नाम टुंगो लागेकोले व्यक्तिगत रुपमा असन्तुष्टि रहेपनि विधानत यो विषय अहिलेलाई टुंगो किनार लागिसक्यो । लामो समयदेखिको चर्चा र विवादको विषय किनारा लागेको हो । प्राकृतिक र ऐतिहासिक महत्वको रणनीतिक क्षेत्रलाई राजधानी बनाएको भन्दै प्रदेशका विभिन्न जिल्लाहरुमा मंगलबार साँझ दिपावली समेत गरियो । कतिपयले त संघीयता गाउँ–गाउँमा आएको अनुभव समेत गरे ।
अहिलेको अस्थायी राजधानी बुटवल अब रणनीतिक र पर्यटकीय राजधानी हुनेछ । त्यहाँ अहिले रहेका केही संरचना रहनेछन् । अहिलेकै स्थानमा प्रदेशसभाको यो कार्यकालसम्म बुटवलबाट नै सबै काम हुनेछ । अहिले राजधानी तोकिएको क्षेत्र मुख्यमन्त्रीको भाषामा भर्जिन ल्याण्डमा धेरै कुराहरुको उपलब्धता आवश्यक छ । अब विवाद भन्दा पनि सहमति अनुसार अघि बढ्नुपर्छ । अहिलेको आवश्यकता भनेको एकता नै हो । त्यसैले विवाद अहिलेको माग होइन । प्रदेशसभाले गरेको यो ऐतिहासिक निर्णय हो । यो निर्णय संघीयता कार्यान्वयनको एक महत्वपूर्ण खुड्किलो हो । अब यसलाई कार्यान्वयनमा ध्यान दिनुपर्छ ।









प्रतिक्रिया दिनुहोस्