‘सबै जिल्लालाई पायक पर्ने स्थानमा राजधानी’, दाङ देउखुरी क्षेत्रका स्थानीयमा खुसीयाली



शिवु खनाल । दाङ ।

अर्घाखाँची शितगंगा गाउँपालिका वडा नम्बर ८ लाहापेका बीर बहादुर दर्लामी लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरी क्षेत्रमा बनाउने निर्णयले फुरुङग छन् । पायकको हिसावले देउखुरी पर्ने र प्रशासनिक कामकाजको लागि दिनभरी लागेर सदरमुकाम तथा गाउँपालिका जानुपर्ने बाध्यता अहिले पनि छ, उनलाई ।

गाउँपालिकाको केन्द्र ठाडा र जिल्ला सदरमुकाम सन्धीखर्क जानुपर्ने बाध्यता अहिले दर्लामीले बिर्सिएका छैनन् । ‘राजधानी हाम्रो ठाउँमै भयो भन्दा खुसी लाग्यो, जिल्लाको राजधानी टाढा भएपनि प्रदेशको राजधानी घरदैलोमा पुग्दा आनन्द लागेको छ’ अगाडी उनले थपे । दर्लामी जस्तै अर्घाखाँची शितगंगा नगरपालिकाका लाहापे, सातमारा क्षेत्रका स्थानीयमा खुसीको सिमा छैन । लाहापे क्षेत्रमा राजधानीको लागि आवश्यक पर्ने प्रशस्त जग्गा रहेकाले र प्रदेशबाट पनि अर्घाखाँचीको भू–भाग समेत तोकेर राजधानी निर्णय भनेको कारण प्रदेशका कुनैपनि मन्त्रालय वा विभाग त्यस क्षेत्रमा आउनेमा त्यस क्षेत्रका नागरिक खुसी भएका हुन् ।

प्रदेशले राजधानीको स्थानको बारे निर्णइ गर्दा अर्घाखाँची र दाङको ठूलो भूगोललाई एकिन गरेका कारण पनि धेरैको राजधानी प्रति अपनत्व बढेको पाइन्छ । राप्ती उपत्यकाकाको देउखुरी क्षेत्रलाई बनाउने निर्णयसंगै देउखुरी क्षेत्रमा राजधानीको लागि आवश्यक पूर्वाधार सहित स्थानको चर्चा सुरु भएको छ । प्रदेश संसदबाट अर्घाखाँची, गढवा र राप्ती गाउँपालिका सहितको भूगोल राप्ती उपत्यकाको देउखुरी क्षेत्र राजधानीको लागि निर्णय भएसँगै यसको चर्चा सुरु भएको हो ।

अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुकेश आलेले शितगंगा र लाहापे क्षेत्रमा प्रशस्त जग्गा रहेकोले आवश्यक परे आफुहरुले जग्गाको व्यवस्थापन गर्न सक्ने बताए । ‘हाम्रो वडालाई पनि समेट्नेगरी राजधानी बनाउने निर्णयले खुसी छौ’ उनले भने, ‘नदी किनारको क्षेत्र र सामुदायिक वन क्षेत्रको बारेमा छलफल गर्न सकिन्छ ।’

दाङ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी तत्कालकै लागि नै भौतिक संरचना पुर्ण रहेको बताउँछन् । ‘राप्ती प्राविधिक शिक्षालयलाई अनेत्र व्यवस्थापन गरी रहेको ३५ वटा भवनलाई प्रयोग गरी गर्दा प्रदेशका सबैजसो कामकाज चलाउन सकिन्छ ।’ उनले भने । अर्घाखाँची र दाङ गरी दुइवटा जिल्ला सहितको भूगोललाई तोकेर राजधानी बनाउने निर्णयले राजधानी ठ्याक्कै कहाँ नेर हुने एकिन नभएपनि राप्ती उपत्यका क्षेत्रको जुनसुकै क्षेत्रमा पनि राजधानीको लागि प्रशस्त जग्गा रहेको प्रदेश सांसदहरु बताउँछन् ।

प्रदेश सांसद इन्द्रजित थारुले राजधानी सार्न नभइ बनाउन लागिएकोले राप्ती उपत्यकाको देउखुरी क्षेत्रको भू–उपयोग नीति बनाएर राजधानीको लागि भौतिक संरचना बनाउने जानकारी दिए । ‘राप्ती नदीमा तटबन्धले उकासियो जग्गा राजधानीको लागि बढी प्रभावकारी हुन्छ, गुरुयोजना बनाएर मात्रै संरचना बनाउने काम हुन्छ’ उनले भने, ‘अर्घाखाँची, दाङको गढवा र राप्ती गाउँपालिका राप्ती तटीय क्षेत्र भालुवाङदेखि सिसहनियाँ क्षेत्रमा तटबन्धका कारण हजारौ बिगाहा जग्गा उकासिएको छ ।’ यसैबीच दाङ प्रादेशिक राजधानी सरोकार समितिले दाङको भालुवाङमा स्वागत ¥याली गरेको थियो । कार्यक्रममा पुर्वमन्त्री तथा संघीय सांसद रेखा शर्माले संघीयताको मर्म अनुसारको प्रदेशका सबै जिल्लालाई पायक पर्ने स्थानमा राजधानी गराउने निर्णय भएको बताइन् ।

दाङ देउखुरी क्षेत्र विकासको दृष्टिकोणले अलि पछी परेको अवस्थामा राजधानी घोषणाले नयाँ शहर बस्ने दाबी उनले गरिन् । यस्तै कार्यक्रममा संघीय सांसद गंगा थारुले दाङ राजधानी घोषणले दाङ सहित प्रदेशका सबै जिल्लाको भावना समेटेको बताइन् । लुम्बिनी प्रदेशकी आन्तरिक मामिला तथा कानुन समितिकी सभापती दामा शर्माले राजधानीको लागि दाङका नागरिकको भूमिका महत्वपुर्ण रहेको बताएकी थिइन् । आन्तरिक रुपमा हुने जग्गाको कारोबारले भोली राजधानीको शहरलाई कुरुप बनाउने भएकाले सचेत रहन उनले आग्रह गरिन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दाङका इन्चार्ज जीवन गौतमले दाङ नेपालकै राजधानीको लागि उपयुक्त रहेको बताएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहीबार