जाजरकोटको जुनिजाँदेमा जीप दुर्घटना वडाध्यक्षसहित ६ को मृत्यु



सुर्खेत ।

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जाजरकोट खलंगाबाट गाउँपालिकाको वडा नम्बर ४ विराखोला जाँदै गरेको बोलेरो जीप वडा नम्बर १ औलखोलामा दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर अन्य एक जना घाइते भएका छन् भने एक जना खोलामा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सदरमुकाम खंलगाबाट यात्रु लिएर जाँदै गरेको भे १ ज ९३५ नम्बरको बोलेरो जीप सडकदेखि एक सय मिटर तल खसेको थियो । मृतकमध्ये ५ जनाको पहिचान खुलिसकेको एक जनाको पहिचान खुल्न नसकेको जाजरकोट प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नेकपा कर्णाली प्रदेश कमिटी सल्लाहकार चुनीचाँदे गाउँपालिका–११ का कृति बहादुर शाही, जुनिचाँदे गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अमर बहादुर शाही, सोही वडाकै अहेव खेमराज शाही, जुनिचाँदे–५ का कृष्ण बहादुर शाही र चुनिचाँदे–५ कै मालिका बस्नेत गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य एक जना मृतकको भने सनाखत हुन सकेको छैन । घटनाको जानकारी पाउँनेवित्तिकै प्रहरी चौकी पन्चालाबाट घटनास्थलमा प्रहरीको टोली र स्थानीयहरुले उद्दार गरेका थिए । दुर्घटनामा परी गम्भिर घाइते भएका शिक्षक नरबहादुर बुढालाई थप उपचार लागि सुर्खेत ल्याइएको छ ।

दुर्घटनामा परेर खोलामा वेपत्ता भएका लाल बहादुर बुढाको स्थानीय र सुरक्षाकर्मीहरुले खोजी जारी राखेका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जाजरकोट प्रहरीले जनाएको छ । वडाध्यक्षसहित एकै गाउँपालिकाका ६ जनाको जीप दुर्घटनामा मृत्यु भएपछि चुनीचाँदे शोकमा डुबेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहीबार