नरैनापुरको विकासको लागि योजना माग



कोहलपुर ।

बाँकेको नरैनापुर गाउँपालिकाका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको छ । नरैनापुर क्षेत्रबाटै प्रदेशसभामा निर्वाचित सांसद् कृष्णा केसी ‘नमूना’को नेतृत्वमा पुगेको जनप्रतिनिधी र कर्मचारीको टोलीले योजना आयोगसँग विकासका योजना माग गरेको हो । विकासमा पछि परेको नरैनापुरको लागि बृहत्तर विकासका लागि लुम्बिनी प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरिएको सांसद नमूनाले जानकारी दिइन् ।

‘नरैनापुर लुम्बिनी प्रदेशमा नै विकट गाउँपालिका हो’ उनले भनिन्, ‘गाउँपालिकाको विकासको लागि हामी एकजुट भएर बुधबार प्रदेशको योजना आयोगसँग विकासका योजना माग गरेका हौं ।’ नरैनापुर विकासको लागि त्यहाँबाट निर्वाचित सबै जनप्रतिनिधी एकढिक्का रहेको उनले बताइन् । सांसद् नमूनासँगै गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, जिन्सी शाखा प्रमुख भरत महतोले प्रदेशको अस्थायी राजधानी बुटवल पुगेर प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमसँग विकासका योजना माग गरेका थिए ।

‘नरैनापुरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटनको विकास र प्रबद्र्धनका लागि संघीय र प्रदेश सरकारलाई हामीले निरन्तर ताकेता गरिरहेका छौं,’ अध्यक्ष शाहले भने, ‘शिक्षाको अवस्था सुधार्दै गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने, उत्पादन र रोजगारीमा स्थानीयलाई जोड्ने उत्कृष्ट अभिलाषाका साथ हामी निरन्तर लागिरहेका छौं ।’

उनका अनुसार प्रदेश योजना आयोग समक्ष राप्ती नदीमा नरैनापुरको पिप्रहवादेखि डुडुवा जोड्ने मोटरेबल पुल निर्माणका लागि बजेट माग गरिएको छ । यसले नेपालगञ्ज पुग्न १८ किलोमिटर दूरी कम हुनेछ । त्यस्तै, मटेहियादेखि सोनबर्षासम्मको ६ किलोमिटर बाटो कालोपत्रे, गंगापुरदेखि जमुनी हुँदै हुलाकी सडक जोड्ने पक्की सडक, सोनबर्षादेखि कोहला हुँदै हुलाकी रोड जोड्ने पक्की सडक, नरैनापुरदेखि अगैया जोड्ने सडक, हुलाकी सडकदेखि बानियाँगाउँ नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी रोडदेखि कोटिया नेपाल भारत सीमासम्म जोड्ने कालोपत्रे सडक, हुलाकी सडकदेखि हुलासपुर्वासम्म जोड्ने कालोपत्र सडकका लागि योजना माग गरिएको हो ।

‘वडा नं. ४ मा औद्योगिक ग्रामका लागि पनि योजना माग गरेका छौं, वडा नंं. ४ मा रहेको गोबद्र्धन धाम, वडा नं. ३ स्थित बाबा बर्फानी, वडा नं. २ को सुन्दरमुन्दरको धार्मिक पर्यटकीय विकासका लागि पनि हामीले ध्यानाकर्षण गराएका छौं,’ उनले भने । प्रदेश योजना आयोग समक्ष ७६ वटा योजना माग गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

‘बृहत् गुरु योजना बनाएर एकिकृत स्वरुपमा प्रस्ताब पेश गर्न भन्नुभएको छ, हामी अब त्यसै अनुरुप काम अघि बढाउँछौं’ शाहीले भने । विकासले विगतमा गति लिन नसकेको क्षेत्रमा अब पूर्वाधारसँगै विकासका सबै आयामलाई दु्रतत्तर गतिमा अघि बढाउनुपर्नेमा उनले जोड दिए । प्रदेश सरकार र प्रदेश योजना आयोगले निकै सकारात्मक प्रतिक्रिया दिएको शाहीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहीबार