बन्ने भो ‘चौघान पार्क’



दिनेश बुढा । सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बहुप्रतिक्षित चौघान पार्क निर्माणको काम सुरु भएको छ । वीरेन्द्रनगर–७ स्थित सामाजिक विकास मन्त्रालयको पूर्व–दक्षिणमा रहेको खाली चौरमा चौघान पार्क निर्माणको काम सुरु भएको हो ।

पहिलो चरणमा पार्कको पर्खाल र गेट निर्माणको काम शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेतका डिभिजनल वन अधिकृत गोविन्दप्रसाद दाहालले जानकारी दिए । उनक अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको एक करोड ७१ लाख लागतमा पार्क निर्माणको काम सुरु गरिएको छ ।

गत आर्थिक वर्षमा पार्कको टेण्डर प्रक्रिया सुरु गरिएपनि चालु आर्थिक वर्षको भदौदेखि पर्खालको लगाउने काम सुरु गरिएको उनले बताए । उक्त पार्कको वीरेन्द्रनगर नगरपालिकाले डिजाईन तथा मास्टर प्लान गरेको थियो । नगरपालिकाको मास्टर प्लान अनुसार नै पार्कको निर्माण कार्य गरिदैछ ।

वन तथा वातावरण मन्त्रालयले पार्क निर्माणको लागि भनेर यो वर्ष दुई करोड २१ लाख बजेट रकम विनियोजन समेत गरेको छ । बहुवर्षिय योजनामा रुपान्तरण गरेर तीन वर्षमा काम सक्नेगरी कामको शुरुवात गरिएको हो । पहिलो चरणको काममा मजदुर कन्ट्रक्सनले वाल र गेट निर्माणको जिम्मा पाएको छ ।

‘यो वर्ष पर्खाल र गेट निर्माण गर्ने तथा अर्को वर्ष पार्कको अन्य काम थाल्ने योजनामा छौं’ डिभिजनल वन अधिकृत दाहालले भने, ‘बहुवर्षिय योजनामार्फत काम अघि बढाउन मन्त्रालयलाई समेत पत्राचार गरिसकिएको छ ।’ चौघान पार्कको कुल क्षेत्रफल झण्डै १२ विगाह रहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १८ गते आइतबार