बाँकेमा कोरोना संक्रमितको मृत्यु क्रम बढ्यो, चिकित्सकसहित तीनको मृत्यु



कोहलपुर ।

बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ । बिहीबार मात्र जिल्लाका दुई कोभिड अस्पतालमा एक चिकित्सकसहित तीन जना संक्रमितको मृत्यु भयो । भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत एक र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको हो । भेरीको कोभिड वार्डमा मृत्यु भएका ५९ वर्षिय पुरुष भने वरिष्ठ डाक्टर हुन् । कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक डाक्टरले ज्यान गुमाएका छन् ।

कोरोनाका कारण ज्यान गुमाउने चिकित्सक भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा–३ घर भएका चिफ कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटा रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृतक चिकित्सकलाई रेम्डिसिभिर र प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । भेरी अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै डा. सापकोटालाई रेम्डिसिभिर र प्लाज्मा थेरापी गरिएको जानकारी दिएको हो । उनलाई फोक्सोमा निमोनिया भई समस्या बढेपछि मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनलाई गत भदौ २९ गते कोरोना पोजिटिभ देखिएको थियो । सुर्खेतमै उपचार भइरहेको भएपनि श्वासप्रवासमा समस्या देखिएपछि असोज १ गते भेरी अस्पताल नेपालगञ्ज पु¥याइएको थियो । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मधुमेह र उच्च रक्तचापका बिरामी डा. सापकोटालाई अस्पताल ल्याउँदा अक्सिजन र सुगर नियन्त्रणका लागि विभिन्न किसिमका इन्सुलिन र एन्टीबायोटिक चलाएपनि सुधार नभएको जनाएको छ । उपचारको क्रममा डा. सापकोटाको स्वास्थ्यमा आशातित सुधार नभएपछि थप सुविधा सम्पन्न ठाउँमा प्रेषण गर्ने हरसंभव प्रयास गरिएको भन्दै अस्पतालले अक्सिजन स्याचूरेसन निकै कम भएकोले थप दुर्घटना हुने सम्भावनाका कारण उनलाई थप उपचारका लागि रेफर नगरिएको स्पष्ट पारेको छ ।

‘उहाँको फोक्सोमा सुरुमा निमोनिया र सोको परिणाम स्वरुप श्वासप्रश्वास सम्बन्धी समस्या भई अक्सिजन स्याचुरेसन घट्दो रहेकोले बिहीबार बिहान ६ बजे भेन्टिलेटरमा राखिएको थियो,’ अस्पतालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । करीब १२ बजे मुटुको चाल बन्द हुँदा उनको मुटुको चाल फर्काउन सिपिआर विधि गरिएको तर दिउँसो ३ बजेर ३० मिनेट जाँदा कार्डियक अरेस्ट भई मृत्यु भएको अस्पतालले जनाएको छ । उनको बिहीबार राप्ती नदीको सिधनिया घाटमा धार्मिक परम्परा अनुसार नेपाली सेनाले दाहसंस्कार गरिसकेको छ । त्यसैगरी बिहीबार बिहान मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।

मृतकहरु एक महिला र एक पुरुष रहेको अस्पतालले जनाएको छ । नेपालगञ्ज उप–महानगरपालिका– ४ का ५२ वर्षिय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षिया संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । केही दिनयता बाँकेका कोभिड अस्पताहरुमा दैनिक जसो संक्रमितहरुको निधन भइरहेको छ । कोरोनाको जोखिम बढेर दैनिक जसो संक्रमितको मृत्यु भएपनि स्थानीयहरुमा त्रास छाएको छ । संक्रमणका कारण बाँके जिल्लाका मात्रै १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रबार