कोहलपुर नगर शिक्षाको फेरी निर्देशन ‘तत्काल विद्यालय नखोल्नु’



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा शैक्षिक क्षेत्रमा प्रत्यक्ष सिकाई भइरहेको भन्दै नगर शिक्षा शाखाले तत्काल बन्द गर्न आदेश दिएको
छ । आइतबार एक सूचना जारी गर्दै नगर शिक्षा शाखाले पहिलो पटकको निर्देशनको अटेरी गरी नगर क्षेत्रमा विद्यालय, ट्युसन सेन्टर, तालिम केन्द्र प्रत्यक्ष रुपमा सञ्चालन भइरहेको भन्दै तत्काल बन्द गर्न आदेश दिएको हो ।

नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालद्धारा हस्ताक्षरित सूचनामा नगर क्षेत्रका केही विद्यालयले प्रत्यक्ष रुपमा विद्यालय सञ्चालन गरिरहेको उल्लेख गरिएको छ । तर कुन विद्यालय सञ्चालन भइरहेका छन् भन्ने खुलाइएको छैन । यसअघि नगर शिक्षा शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेको असोज १ गतेको निर्देशन भन्दै नगर क्षेत्रका विद्यालय अर्को सूचना नभएसम्मका लागि सुचारु नगर्न निर्देशन जारी गरेको थियो । तर कोहलपुर नगरपालिका क्षेत्रका विद्यालयहरुले नगर शिक्षा शाखाको निर्देशन विपरित पढाई सुरु गर्नुका साथै भर्ना समेत सुरु गरिसकेका छन् ।

‘नगर क्षेत्रमा केही विद्यालयले कक्षा सुचारु गरिरहेको गुनासो आइरहेको छ । यदि ती विद्यालयहरुमा केही संक्रमणजन्य दुर्घटना भएमा पूर्ण जिम्मेवारी सम्बन्धित विद्यालयले नै लिनुपर्नेछ । यदि शाखाको आदेश अवज्ञा वा अवहेलना गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।’ उक्त सूचनामा भनिएको छ । कोहलपुर यसअघि कोहलपुर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपनि उक्त निर्णय २४ घण्टा पनि टिकेको थिएन ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १२ गते सोमबार