‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्’



बर्दिया ।

जिल्लाको बढैयाताल गाउँपालिका–५ जगतियाका घनश्याम सापकोटा बेपत्ता छोरीको खोजी गर्दागर्दै थाकिसके । उनले बेपत्ता भएको पुष्टि हुने कागज सरकारी निकायदेखि मानवअधिकार संघसंस्थामा पेश गरे पनि अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन । उनी गुनासो गर्छन् । ‘छोरीको न लास पाइयो न सास ।’ विसं २०६० मा नेपालगञ्जमा अध्ययनरत छोरी दीपाको सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएका थिए । त्यसपछि बेपत्ता छोरी घर फर्किने पर्खाइमा बसेका उनलाई बुढ्यौलीले छोइसकेको छ ।

‘त्यस घटनापछि देशमा अनेक सरकार फेरिए शैली उस्तै छ’ उनले भने, ‘हाम्रा सन्ततिको रगत बगेर विष बन्यो । पद पाएपछि नेताले सबै भुले ।’ बढैयाताल गाउँपालिका–५ जगतिया गाउँको मगन्ती थारुको पीडा पनि उस्तै छ । विसं २०५८ मंसिर २७ गते श्रीमान शिवशरण कोहलपुर आफन्त कहाँ जाँदा बाटोमा पक्राउ गरे । चार महिना विभिन्न हिरासतमा यातना सहँदै कारागार पुगेका उनी चैत २१ गते गुलरियास्थित कारागारबाटै बेपत्ता पारिएको बताइएको छ ।

त्यसपछि पीडामा बाँचेकी मगन्ती भित्तामा टाँसेको श्रीमानको फोटो हेर्न विवश छन् । उनी भन्छिन्, ‘आफन्त गुमाएको पीडा देश चलाउनेले बुझेनन्, आफ्नो मान्छे बाँचेको छ वा मरेको छ त्यो पनि थाहा पाइएन ।’ दशवर्षे द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट आफन्त गुमाएका अवस्था यी प्रतिनिधि घटनाले पुष्टि गर्छ । बर्दियामा बेपत्ता भएका २७८ व्यक्तिका परिवार यस्तै पीडामा बाँच्न विवश छन् ।

राज्यले बेपत्ता परिवारलाई विभिन्न किसिमको आवश्वासन दिएको बेपत्ता परिवारको गुनासो छ । दोषीलाई कारबाहीको माग गरेको वर्षौं बितिसक्दा पनि राज्यले बेपत्ता परिवारको मागप्रति बेवास्ता गरेको महिला कानून विकास मञ्चका काशीराम चौधरीले बताए । उनी भन्छन्, ‘बेपत्ता परिवारको घाउमा मलम लगाउने काम समेत राज्यले गर्न सकेको छैन ।’ रासस

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार