नेपालगञ्ज ।
बाँकेमा कोरोना संक्रमितको कुल संख्या एक हजार ६ सय नजिक पुगेको छ । आइतबार साँझसम्म जिल्लामा कुल संक्रमितको संख्या एक हजार पाँच सय ९९ जना पुगेको बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाँकेमा आइतबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आइतबार थपिएका संक्रमितमध्ये ५ जना नेपालगञ्जका र ५ जना कोहलपुरका रहेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एक जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै संक्रमितको कुल संख्या १६ सय नजिक पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइतबारसम्म कोरोना जितेर एक हजार २ सय ४४ जना घर फर्किसकेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । कुल सक्रिय संक्रमितको संख्या भने तीन सय ४५ जना रहेको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ ।
बाँकेमा पछिल्लो केहीयता भने पीसीआर परीक्षण न्यून हुँदै आएको छ । आवश्यकता मात्रामा प्रयोगशालामा किट नहुँदा पीसीआर परीक्षण प्रभावित भइरहेको बताइन्छ । यसैबीच देशभर आइतबार थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन् । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका थिए । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको उनले जानकारी दिए । कुल संक्रमितमध्ये निको हुनेको दर ७२ प्रतिशत हो । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ जना रहेको छ । आइतबार थप मृतक १० जनामा कोरोना पुष्टि भएको थियो । योसहित हालसम्म मृतक ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।
नेपालगञ्जमा ७ औं व्यक्तिको मृत्यु
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकामा कोरोना संक्रमणका कारण ७ औं व्यक्तिको मृत्यु भएको छ । शनिबार राती साढे ११ बजे भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्जका ७ औं व्यक्तिको मृत्यु भएको हो । बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उप–महानगरपालिका २१ पुरैनाका ५९ वर्षका पुरुषको उपचारको क्रममा शनिबार राति कोरोनाबाट मृत्यु भएको थियो ।
दुबैतिरको फोक्सोमा निमोनिया भएका उनलाई प्लाज्मा थेरापी, रेम्डीसिभिर औषधि पनि चलाइएको उनले बताए । यसभन्दा अघि नेपालगञ्जमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा भने संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बढी नेपालगञ्जका ७ जना रहेका छन् । अन्यमा कोहलपुर नगरपालिकाका एक, बैजनाथ र नरैनापुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्