छोरा बचाइ दिन बाबुको अपिल



सुर्खेत ।

‘रातिको १२ बजेको थियो । एक्कासी चिच्याएको आवाज आयो । हल्ला–खल्ला भयो । म पनि मिठो निन्द्राबाट झसंङ्ग ब्युझिँए । गाउँका छिमेकीहरु एक–एक मेरो घरतर्फ ओर्लिए । के भएको रहेछ । भनेर म पनि पछि–पछि गएँ । घरमा पुग्दा आगो लागेको रहेछ । घरमा त्यो दिन एक्लैँ सुतेको मेरो जेठो छोरा पारसको आधा शरिर आगोले जलिरहेको रहेछ ।

त्यो दृष्य मैले हेर्न सकिन’ आगोबाट पिडित पारस बुढाका बाबु धनिराम बुढाले भने । सुर्खेत जिल्लाको पश्चिममा पर्ने पञ्चपुरी नगरपालिका २ च्युरिखेतका १८ वर्षिय पारस बुढाको आगोले पोलिदा दुई वटा खुट्टा, हातसँगै छातीको बाहिरको भाग सबै जलेको छ । गत भदौँ २७ गते राति १२ बजेतिर उनी एक्लै सुतेको कोठामा आगो लाग्दा आधा शरिर आगोले जलेको हो । उनी राम्रोसँग बोल्न र हिड्डुल गर्न भने सक्दैनन् । उनी त्यो दिनबाट बिस्तार मै रहेको उनका बुबा धनिराम बताउँछन् । धनिरामका अनुसार उक्त दिन घरमा भएका चार सदस्यहरु मध्ये पारस घरमै थिए । धनिराम, आमा बालिका र भाइ खेमराज छिमेकीको गएका थिए ।

सानै उमेरदेखि पारसको मानसिक सन्तुलन राम्रो थिएन । उनका बुवा भन्छन्, ‘छोरो धूम्रपान र मध्यपानको अम्मली थियो, त्यो दिन पनि एक्लै भएकोले चुरोटबाट सल्किए जस्तो लाग्छ ।’ सबैले उक्त दिन चुरोटको धुवाँ सल्किएर आगो लागेको हुने अनुमान गरेका छन् । घरको आर्थिक अवस्था नाजुक भएकोले अहिले उपचारमा समस्या भइरहेको छ । बुबा धनिरामले आफ्नो छोरालाई बचाइदिन सबैको सामु अपिल गरे । उनको उपचारको लागि पाँचदेखि सात लाख रुपैयाँ लाग्ने बताइएको छ । ‘गाउँलेहरुको सहयोगले समयमै आगो लागेको कोठाबाट उद्धार गर्न सफल त भइयो तर उपचार गर्न भने हामीलाइ हम्मेहम्मे भएको छ’ बुवाले भने, ‘उक्त कोठामा छोरोसँगै भएको लुगा, कपडा भने सबै जलेर खरानी भएका छन् ।

कोठामा भएको सामान जलेर ५० हजार बराबरको क्षति भएको छ’ मिसन टुडे दैनिकसँग उनले भने । पारसको उपचारको लागि भदौ २८ गते नै बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा लगिएको त्यहाँ उपचार गर्न नसकिने भन्दैं काठमाडौँ लिनु पर्ने अवस्था रहेको आफन्त मोहन रावलले जानकारी दिए । उनले भने ‘आर्थिक अवस्था सा¥ह्रै नाजुक छ । काठमाडौँ लग्न नसक्दा सुर्खेतको प्रदेश अस्पतालमा हाल उपचारको लागि भर्ना गरिएको छ’ उनले भने, ‘उसको पुरा उपचारको लागि पाँच-सात लाख रुपैयाँ लाग्छ भनेको छ ।’ उपचारको लागि अहिलेसम्म ५० हजार भन्दा बढी खर्च भइसकेको छ । पारसको उपचारको लागि सहयोग गर्नको लागि मोहन रावलको मोबाइल नम्बर ९८४४८९८७९६ मा सम्पर्क गरि वा प्रत्यक्ष रुपमा भेटेर पनि सहयोग गर्न सक्नुहुनेछ । उनको एनसीसी बैंकमा रहेको खाता न ०५८०००००१८६१३ मा पनि सहयोग गर्न सबैलाई उनले आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १ गते बिहीबार