अन्तर जातीय विवाहको कहर, बेहुलाले घरमा अन्माउन पाएनन् बेहुली



शुभाकर विश्वकर्मा । कोहलपुर

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरका वीरेन्द्र विक र मिना खत्रीले यही २२ गते भागी विवाह गरे । चार वर्ष लामो प्रेम सम्बन्धलाई औपचारिकता दिदै उनीहरुले अन्तर जातीय विवाह गरेका हुन् । दुवै पक्षलाई उनीहरुको प्रेम सम्बन्धका विषयमा थाहा भएपछि छुटाउन कोशिस गरिएको थियो । घर र समाजले आफूहरुको प्रेम स्वीकार गर्दैन भन्ने थाहा पाएका उनीहरुले सुटुक्क मन्दिरमा गएर विवाह गरेका थिए । वीरेन्द्रले मिनाको सिउँदो रंगाए ।

मिनाले वीरेन्द्रलाई फूलमाला लगाइदिइन् । अफसोच, वीरेन्द्रले आफ्नो जीवन संगीनीलाई दुलही बनाएर घरमा अन्माउन पाएनन् । मिनाले अनेक कष्ट र दुःख सहदै आफ्नो प्रेम प्राप्त त गरिन् । तर वीरेन्द्रकी दुलही बनेर दुलाहाको घर जान पाइनन् । अन्तर जातीय विवाह गरेकै कारण उनीहरुले अहिले लुकीलुकी बस्नुपरेको छ । एकसातादेखि उनीहरु घर आउन सकिरहेका छैनन् । यता मिनाका आफन्तले वीरेन्द्रको घरमा आएर गालिगलौज गर्ने देखि कुटपिटको धम्की दिइरहेका छन् ।

जातीय रुपमा समेत अपशब्द प्रयोग गर्दै आफूहरुलाई दुःख दिएको वीरेन्द्रको परिवार बताउँछ । आफ्नी छोरीलाई तेरो छोराले अपहरण गरेको भन्दै धम्की दिने गरेको वीरेन्द्रकी आमा कमला विकले बताइन् । उनका अनुसार केटी पक्षकाहरुले घरमा आएर गालीगलौज गर्ने, तल्लो जातका भन्दै हेप्ने र छोरी पत्ता नलागे भौतिक आंक्रमण गर्ने धम्की दिने गरेका छन् । उनी भन्छिन्, ‘मेरो छोराको र केटीको प्रेम सम्बन्ध रहेछ । दुवै जनाले भागेर विवाह गरेछन् । छोरा अहिले हामीसँग सम्पर्कमा छैन ।’ मिनाका आमाहरुले भने दुई तोला सुन र पैसा लिएर गएको भन्दै निरन्तर दबाब दिइरहेका छन् ।

मिसन टुडे दैनिकसँगको सम्पर्कमा आएका वीरेन्द्र र मिना भने आफूहरुले सहमति मै विवाह गरेको बताउँछन् । उनीहरु भन्छन्, ‘हामी चार वर्षदेखि प्रेम सम्बन्धमा थियांै । अन्तर जातीय प्रेम भएकोले घर परिवारले नमान्ने अवस्था थाहा भएपछि दुवै जनाले भागेर विवाह गरेका छौं । दुवैजना मन्दिर गएर सिन्दुर हाली सक्यौ ।’ उनका अनुसार दुवै जनाको सहमति मै विवाह भएको हो । तर अन्तर जातीय प्रेम भएकोले आफूहले निकै दुःख भोग्नु परेको उनले सुनाए । ‘स्कूल पढ्दैदेखि नै दुवैजना मन पराथ्यांै । पछि मिनाका परिवारले थाहा पाए । मसँग छुटाउन धेरै प्रयास गरे । हाम्रो सम्पर्क लामो समय छुट्यो ।

अर्कै केटासँग विवाह गरिदिन खोजेपछि उनकै अग्रसरता विवाह भएको हो ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने । उनले केटीका पक्षका आफन्तले आफ्नो घरमा गएर धम्की दिने, काटिदिन्छौ भन्नेदेखि, डुम भन्नेदेखि रोड हिड्ने बनाउनेसम्मको धम्की दिइरहेका छन् । मिना पनि आफूले वीरेन्द्रलाई मन पराएरै विवाह गरेको बताउँछिन् । आफूले आफ्नो आमालाई केटा पक्षलाई केही नगर्न भनेर आग्रह गर्दा पनि नमानेको उनले बताइन् । उनका अनुसार आफ्नै आमाले आफूलाई सुन चोरीको आरोप लगाएको भन्दै दिन तयार रहेको उनले जानकारी दिइन् । ‘मेरो आमाले सुन चाहियो भन्नु भएको छ, पहिला मैले लगाएको आधा तोला जति सुन छ । मेरो माया पाउनको लागि उनीहरु सुन, लुगा सबै दिन तयार छु । मेरो मोइलीलाई केही नहोस ।’ मिनाले भनिन् ।

वीरेन्द्र र मिनाको विवाहको कुरा प्रहरीसम्म पुगेको छ । प्रहरी चौकी ढकेरीका प्रमुख असई टेकबहादुर केसीले दुवै जना पक्षबीच शुक्रबार कुराकानी गराइएको बताए । उनका अनुसार दुवै पक्षबीचलाई राखेर केटाकेटीले सहमतिमा विवाह गरेकोले कुनै पनि आरोपप्रत्यारोप गर्ने मौखिक सहमति गरेर पठाइएको छ । यता मिनाका अंकल नाता पर्ने दिपक केसीले आफ्नो छोरी घरबाट एक्कासी सम्पर्क विहीन भएपछि खोजि गरेको बताए ।

उनले वीरेन्द्रसँग भागेको भन्ने पुष्टि भएपछि उनीहरु कहाँ छन् भनेर सोधेको उनले बताए । आफ्नो छोरीको अवस्थाको विषयमा जानकारी लिएको भन्दै केटी पक्षले केटापक्षलाई धम्की पनि नदिएको, गालीगलौज नगरेको र जातीय आधारमा विभेद पनि नगरेको उनले दाबि गरे । तर मिना माइतीले पहिले पनि आफ्नो प्रेम असफल बनाउन लागेको र अहिले पनि मोइली पक्षलाई धम्की दिइरहेको बताएकी छन् । ‘छोरी सम्पर्क विहीन भएपनि खोजि गरेका हौं ।

आवेगमा आएर भाउजूले अलि बढी बोल्नु भयो होला । हाम्रो आग्रह छोरी सम्पर्कमा आउन भन्ने हो । अरु केही पनि होइन सामान्य हो’ केसीले भने । यता वीरेन्द्रकी आमा कमलाले बताएअनुसार प्रहरी कहाँ गएर केटी पक्षकाले छोरीले सुन लिएर गएको भन्दै पाउनु पर्ने बताएका थिए । केटीसँग भएको सुन १० दिनमा फिर्ता गरिदिने कुरा भएको उनले बताइन् । अन्तर जातीय विवाह गरेको वीरेन्द्र र मिनाले भने दुवै जनाले एक अर्कालाई प्रेम गरी विवाह गरेको कुनै अपराध नगरेको बताएका छन् । उनीहरु भन्छन्, ‘दुवैजना सच्चा प्रेम गरेको हो । कुनै अपराध गरेको होइन । विवाह पनि गरिसक्यांै । हामी खुसी छांै । आफ्नो घरमै फर्किन चाहन्छौ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २८ गते आइतबार