जहाँ बाँसको जरामा राती बल्छ बत्ति



सुर्खेत ।

श्रीस्थान र नाभिस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला दैलेखको जीवन्त परिचय हो । यस प्रदेशमा पर्ने दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो । अहिले पनि दुल्लुमा सो अभिलेख सुरक्षित छ । दैलेखमा श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला पञ्च तीर्थस्थल पनि दैलेखमै छन् । यस्तै दैलेख जिल्लामै बाँसको जरामा रातको समयमा बत्ति बल्ने गरेको पाइएको छ । यो अहिलेको महाबु गाउँपालिका वडा नम्बर ३ मा रहेको छ । शिरमा मालिका माइ तथा महालिङ देवताको मन्दिर । गाथमा पाँच भाइ पाण्डवद्वारा निर्मित देवल । पश्चिममा ताउलाखार गुफा छ ।

पुर्वमा महावै देवताको मन्दिर । यति ४ किल्लाको बीचमा पर्ने भगवान् बासुदेवले स्नान गर्ने बासुधारा नजिक रहेका बाँसघारीहरु । बाँसुधारा नजिकैको बाँसघारीमा अनौठो चमत्कार प्रदर्शन भएको स्थानियले बताएका छन् । उक्त बाँसघारीमा रहेका बाँसका पात, काण्ड र जमिन बाहिरका जराहरुबाट रातिको समयमा आफै प्रकाश प्रज्वलन हुन्छ । उक्त बाँसघारीको उत्तरतर्फ करिब ५ फिटसम्मको क्षेत्रफलमा टर्च लाइटले हेर्दा सुकेका बासका पात, काण्ड र जराहरु मात्रै देखिन्छन् । तर टर्च लाइट बन्द गर्दा उक्त वस्तुहरु प्रकाश प्रज्वलन भइ सेता देखिने गरेको स्वास्थ्यकर्मी समेत रहेका नेकपा युवा नेता चेतन जैशीले बताए ।

उक्त स्थानका जग्गाधनी रामबहादुर बुढा र डम्बरबहादुर बुढाले विगत देखि हालसम्म यस्तो कुनै अनौठो दृश्य नदेखिएको बताएका छन् । उक्त स्थानमा वरिपरि रजस्वला भएकी, सुत्केरी भएकी महिलाहरू आउन नहुने संस्कार छ । विगतमा अशुद्ध महिलाबाट उक्त स्थानको बाँसुधारा, चाप धारामा केही गल्ती हुन गएमा २ वा सो भन्दा बढी नाग देवताहारु, सर्पहरु एक आपसमा लडाइ गरिरहेको दृश्य तत्काल देखा पर्ने गरेको गरेको समेत रामबहादुर बताउँछन् । यसरी महाबु गाउँपालिका वाड नम्बर ३ बाँसीको सबैभन्दा उच्च स्थानमा रहेको बर्सेनी २ पटक मेला (मालिका र तिजमा) लाग्ने गरेको छ ।

मालिका माइ र महालिङ देवताको गाथमा भगवान बासुदेवले स्नान गर्ने बासुधारा नजिकको बाँसघारीमा यो अनौठौ दृष्य देखिएको हो । यो अनौठो प्रकाश प्रज्वलनलाइ उनीहरुले नै सार्वनजिक गरेका हुन् । उनका अनुसार यस्तो प्रकारको चमत्कारको बास्तविक अध्ययन हुनुपर्छ । भौतिक तथा आध्यात्मिक शक्तिको पहिचानका लागि उनले स्थानीय सरकारलाई अपिल गरे । गाउँपालिका निवासी राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा शुभचिन्तकलाई उनीहरुले यसको प्रचारप्रसारको लागि अपिल गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २६ गते शुक्रबार