नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । कोरोना विशेष अस्पतालको बिहीबार प्रदेश ५ कासामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए । प्रदेश सरकार कोरोनाविरुद्धको अभियानमा सक्रियका साथ लागि परेको उनले दाबी गरेका थिए ।
यसअघि बाँकेको खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गरिएको थियो । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार, आठ बेडको आइसियुसहित ७२ बेडको कोरोना विशेष अस्पतालमा सञ्चालनमा ल्याइएको हो । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ ।
भेरी अस्पताल परिसरमा भवन बनेको थियो । त्यसलाई नै दाताहरुसँग सहयोग जुटाएर कोरोना विशेष अस्पतालमा ल्याइएको मेसु डा. थापाको भनाई रहेको छ । उनका अनुसार, कोरोना विशेष अस्पतालमा सय जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् । उद्घाटनमा समारोहमा प्रदेश सांसदहरु इन्द्रप्रसाद खरेल ‘आइपी’, विजयबहादुर यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरी, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ लगायतको उपस्थिति रहेको थियो ।
यो कोरोना विशेष अस्पतालमा लक्षण देखिएको विरामीलाई मात्रै राखिनेछ । लक्षण नदेखिएका विरामीलाई अन्यत्रको आइसोलेसनमा सेन्टरमा राख्ने रणनीति बनाइएको छ । भेरीमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै खजुराको सुविधा यतै सारिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । बाँकेका अन्य स्थानहरुमा समेत आइसोलेसन बनाइएको छ । त्यहाँ लक्षण नभएका संक्रमितहरुलाई राखिने बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्